
पर्वत, जेठ ८–यहाँका ७५ बर्षमाथिका बृद्धबृद्धालाई वडा कार्यालयले नगदसहित सम्मान गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी वडा कार्यालयले सोमबार एक कार्यक्रम गरी एक सय १० जना बृद्धबृद्धालाई सम्मान गरेको हो । वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले बृद्धबृद्धालाई उत्साह र उत्प्रेरणा जगाउन सम्मान गरिएको जानकारी दिए ।
उनकाअनुसार एक सय १० जना ७५ बर्षमाथिका बृद्धबृद्धालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा ९७ बर्षसम्मका रहेका थिए । वडा कार्यालयको बार्षिक कार्यक्रमअनुसार सम्मान कार्यक्रम राखिएको लामिछानेले जानकारी दिए ।
बृद्धबृद्धालाई पर्वतका पूर्वसांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दोसल्ला ओढाएर तथा नगद प्रदान गरेर सम्मान गरेका थिए । बृद्धबृद्धाको सम्मानले उनीहरुमा आत्मबल र बाचुञ्जेल हौसला बढ्ने जोशीले बताए । उनले विकास निर्माणसँगै यस्ता रचनात्मक र सामाजिक काममा वडा कार्यालय लागेकोमा धन्यबाद पनि दिए ।
सम्मान पाएपछि ९७ बर्षिय पशुपति लामिछानेले खुशी ब्यक्त गरे । ‘यो समयमा पनि हाम्रो मनोबल उच्च राख्न सम्मान गरेकोमा धेरै धेरै धन्यबाद छ’ लामिछानेले भने । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उता कुश्मा नगरपालिका वडा नम्बर ९ कै ९६ बर्षिय सुविन्द्रबहादुर जिसीले पनि यो उमेरमा गरिएको सम्मानले सबैभन्दा आफु हर्षित भएको बताए ।
‘हाम्रो लागि पनि सम्मानका लागि सम्झने निकाय रहेकोमा निकै खुशी छु’ जिसीले भने । ९३ बर्षिय टिकाबहादुर कामीले नगद र पैसाका लागि भन्दापनि मर्नेबेलामा यो सम्मान पाएको भन्दै धन्यबाद दिए । ‘यो सम्मानको लागि म सधै ऋणी भइरहनेछु’ उनले भने । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले वडा कार्यालयले अन्य कामसँगै बृद्धबृद्धाको सम्मानका लागि बजेट बिनियोजन गरेको धन्यबाद दिइन् ।
कार्यक्रममा जिविसका पूवउपसभापति राम शर्मा पौडेल, काँग्रेसका वडा सभापति पिताम्बर शर्मा अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेश पिसी, वडा सचिव लेखनाथ रेग्मी सामाजिक परिचालक जमुना सुवेदी बैरागीलगायतले बोलेका थिए ।


