spot_img

सार्वजनिक जग्गामा गाउँपालिकाको कडाई


पर्वत, जेठ ८–जलजला गाउँपालिकाले सार्वजनिक जग्गाको एकिन तथ्यांक निकाल्न सुरु गरेको छ । गाउँपालिकाभित्र रहेको सार्वजनिक जग्गा ठुलै परिमाणमा कब्जा भएको आशंका गर्दै जलजला गाउँपालिकाले खोजबिन गर्ने भएको छ । यहाँ बसेको गाउँकार्यपालिकाको बैठकले पालिकाभित्र रहेको सार्वजनिक जग्गा छुट्याउने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जानकारी दिए ।
‘पालिकाभित्र सार्वजनिक जग्गाको अवस्था के छ, त्यसका लागि नापी ल्याएर नै पत्ता लगाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको छ’ अध्यक्ष मल्लले भने । उनले गाउँपालिकाको नौ वटै वडामा रहेका सार्वजनिक जग्गाको अवस्था पत्ता लगाएर के कति छ त्यसलाई छुट्टै उपभोगको नीति ल्याइने जानकारी दिए । विशेषगरी बजारीक क्षेत्रमा रहेका र खोला तथा नदी किनारमा रहेका जग्गाहरु हडप्ने तथा कब्जा गरेर बसेको सुचना पाएकोले जिल्ला नापी कार्यालयको टोली झिकाएर सार्वजनिक जग्गा छुट्याउने उनले बताए ।
‘वारीबेनी, मिलनचोक, लस्तीलगायतका ठाउँमा सार्वजनिक जग्गा मिचेर घरबस्ती बसेको र सार्वजनिक जग्गा कब्जा गरेको सुचना आएको छ, त्यो पत्ता लगाएर गाउँपालिकाले उपभोगको नीति बनाउँछ’ उनले भने–‘मुख्यकुरा गाउँपालिकाको सार्वजनिक जग्गा कति र निजि कति छ भन्ने पत्ता लगाउने हो ।’ ढुंगा, गिट्टी थुप्रिएका सार्वजनिक बगरहरु समेत ब्यक्तिले कब्जा गरेको भन्दै उनले त्यस्ता बगरलाई पत्ता लगाएर करको दायरामा ल्याउने बताए । गाउँपालिकाले छिट्टै नै ढुंगाखानीलाई समेत करको दायरामा ल्याउने भएको छ ।
जलजला गाउँपालिकामा निकै राम्रा, स्तरीय र आकर्षक ढुंगाहरु पाइन्छन् । अहिले त्यहाँ केही ब्यक्तिले नियमित रुपमा ढुंगा निकासी गर्दै आएका छन् । जलजलाको ढुंगा बढीमात्रामा कुश्मा, पोखरा र बागलुङबजारमा निकासी हुदै आएको छ । सञ्चालनमा रहेका ढुंगाखानी र सम्भावित अन्य खानीलाई समेत पहिचान गरेर बैधानिक रुपमा सञ्चालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ ।
‘अहिले पनि लाखौ मुल्यका ढुंगाहरु बाहिर निकासी भइरहेका छन्, कतिपय दर्ता छैनन्, सबैलाई गाउँपालिका मातहत दर्ता गराएर बैध रुपमै ढुंगा तथा अन्य खानी सञ्चालन गर्ने तयारीमा छौ’ गाउँपालिका अध्यक्ष मल्लले भने–‘खेर गएका ढुंगाहरु बिक्री गरेर गाउँपालिकाले राम्रो आम्दानी गर्नसक्छ ।’ ढुंगाखानीलाई बैधानिक रुपमा दर्ता गराएपछि गाउँपालिकामा राजश्वसमेत बृद्धि हुने उनले जानकारी दिए । इट्टा उद्योग र ब्लक उद्योगलाई पनि तत्काल गाउँपालिकामा दर्ता गर्न जलजला गाउँपालिकाले आग्रह गरेको छ । जलजला गाउँपालिकामा अहिले पनि एक दर्जनबढी ब्लक उद्योग सञ्चालनमा रहेका छन् ।
यसैगरी जलजला गाउँपालिकाले भवन निर्माण गर्ने तयारी गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ भित्र सबैलाई पायक पर्ने र उपयुक्त जग्गा खरिद गरी भवन निर्माणको तयारी गरेको हो । जग्गा खोज्नका लागि वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्लको संयोजकत्वमा छ सदस्यीय समिति गठन गाउँपालिकाले गरेको छ ।
समितिमा वडा नम्बर ३ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता देबेन्द्रबहादुर भण्डारी ९रवि० सहसंयोजक छन् । समितिका सदस्यमा वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्री, वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसी, वडा नम्बर ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी र कार्यपालिका सदस्य माया रिजाल रहेका छन् । समितिलाई जलजला वडा नम्बर ४ भित्र, सबैलाई पायक पर्ने भण्डै २० रोपनी जग्गा खरिद गर्न सिफारिस गर्न जिम्मेबारी दिइएको छ ।
सरकारले तोकेअनुसार जग्गा भएका स्थानीय तहलाई सरकारले भवन निर्माणका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष मल्लले जानकारी दिए । ‘जग्गा खरिद गरेपछि भवन निर्माणका लागि संघीय सरकारसमक्ष माग गर्छौ’ उनले भने । सरकारले गाउँपालिकाको भवन निर्माणका लागि कम्तीमा १५ रोपनी जग्गा हुनुपर्ने तोकेको छ । जलजला गाउँपालिकाले २० रोपनी खरिद गर्न लागेको हो ।

spot_img

भर्खरै