spot_img

एकता नहुँदै स्पेस खोज्दै एमाले र माओवादीका दोस्रो तहका नेता, कसको स्वार्थ के ?

काठमाडौं, पुस २३ –नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीमा दुवै दलका दोस्रो तहका नेताहहरुले अहिल्यैदेखि स्पेस खोजी गर्न थालेका छन्। वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकताको मोडल टुंगो लगाउन निरन्तर अनौपचारिक संवादमा छन्। ओली अस्वस्थ बनेकाले एक सातायता दुई नेताबीच भेटघाट नभए पनि निरन्तर टेलिफोन संवाद चलिरहेको छ। तर छलफल ठोस निष्कर्षमा नपुग्दै दुवै पार्टीका दोस्रो तहका नेताहरुले भने एकताको मोडालिटीमा फरक फरक धारणा सार्वजनिक गर्दै अहिल्यैदेखि स्पेस खोजी गर्न थालेका हुन्।
त्यस्ता गतिविधिले एकतालाई असर पार्ने भन्दै रोक्न दुवै प्रमुख नेताले कडाइका साथ निर्देशन दिए पनि मोडालिटीका विषयमा फरक फरक अभिव्यक्ति दिने क्रम रोकिएको छैन। एकीकृत पार्टीको महाधिवेशन नहुँदासम्म एकता प्रक्रिया जारी रहने भएकाले अहिल्यैदेखि आफूलाई केन्द्रबिन्दुमा राखेर दुवै पार्टीका दोस्रो तहका नेताहरुबाट फरक फरक अभिव्यक्ति आउन थालेको ओली र प्रचण्डको बुझाइ छ। दुई नेताबीच सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले नै गर्ने गरी छलफल चलिरहेको स्रोतको भनाइ छ। तर दुवै पार्टीको सांगठनिक शक्ति र ताजा जनमत मध्यनजर गर्दै एकताको मोडालिटी टुंग्याउँदा आगामी महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष र सहअध्यक्ष वा दुवै सहअध्यक्षको भूमिकामा रहने विषयमा छलफल केन्द्रित भएको स्रोतले बतायो।
यो मोडल अनुसार ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले कार्यकारी प्रमुखको रुपमा महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने गरी छलफल अघि बढेको छ। तर माओवादी केन्द्रको सचिवालय बैठकले भने प्रचण्डले अध्यक्ष लिएर एकता गर्नुपर्ने सुझाव दिएको छ। कसको कस्तो स्वार्थ ?
वामदेव गौतम : निर्वाचित सांसद, कुनै महत्वपूर्ण जिम्मेवारी
नारायणकाजी श्रेष्ठ : पार्टीभित्रै महत्वपूर्ण जिम्मेवारी
ईश्वर पोखरेल : महासचिव, सरकारमा महत्वपूर्ण मन्त्रालय
रामबहादुर थापा बादल : राष्ट्रियसभा अध्यक्ष या कुनै महत्वपूर्ण जिम्मेवारी
सुवास नेम्वाङ : राष्ट्रपति या सभामुख
अमिक शेरचन : राष्ट्रपति वा कुनै महत्वपूर्ण जिम्मेवारी
कृष्णबहादुर महरा : सभामुख वा महत्वपूर्ण मन्त्रालय
 
spot_img

भर्खरै