spot_img

राजा महेन्द्रको मृत्युको भविष्यबाणी मिलाएका भण्डारीको निधन


पर्वत, असोज १९–पैंयूँ गाउँपालिका वडा नम्बर ४ हुवासको किक्रिकमा जन्मिएका प्रख्यात ज्योतिष कमलराज भण्डारीको निधन भएको छ । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमाएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) को मंगलबार रातीसाढे नौ बजे भरतपुर महानगरपालिका कृष्णपुरस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा जन्मिएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउने गरेका उनी राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल परेका थिए । उनले बेलायतकी तत्कालिन राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने भबिष्यबाणी समेत मिलाएका थिए । त्यो घटनापछि कमलानन्दले अन्तराष्ट्रियस्तरमै चर्चा बटुलेका थिए । २०५१ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई मध्यावधी नगर्न सल्लाह दिएका थिए । सो सल्लाह नमान्दा नेपाली काँग्रेसले पराजय भोग्नु परेको थियो । यस्ता भविष्यवाणी उनले धेरै गर्दै आएका थिए । ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुबी भएका उनलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तराष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो । यसैगरी उनमा भएको आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो । स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी छन् । जेठा छोरा रुद्रप्रासद अद्वैत सत्सङ्गी छन् भने माइला छोरा स्वामी दुर्गादास शब्द चिन्तन दर्शनका प्रधान संरक्षक छन् । स्व. कमलानन्द सरस्वतीलाई केही वर्ष यता मधुमेहको रोगले गालेको थियो । उनको निधनले पर्वतको पैंयूँखोलाले नै एउटा अदभुत क्षमता भएको ब्यक्ति गुमाएको भन्दै त्यसक्षेत्रका बासिन्दाले दुःख ब्यक्त गरेका छन् ।

spot_img

भर्खरै