दाङ, असोज १९–नेकपा एमालेका नेता शंकर पोखरेलले माओबादी केन्द्रसँगको तालमेललाई लिएर असन्तुष्टि जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै भित्रभित्रै गुम्सिएको कुरा पोखरेलले आकल्दै माओबादी केन्द्र एमालेमा बिलय भएको टिप्पणी गरेका हुन ।
एकताको छ बुंदेमा दुबै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्काबिरुद्ध अभिव्यक्ति नदिने उल्लेख भएपनि घोचपेच भने सुरु हुन थालेको छ । चुनावी अभियानको क्रममा गृहजिल्ला दाङ पुगेका पोखरेलले माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको दाबी गर्दै एमाले ठिक रहेको तर माओवादी केन्द्र विलय भएको प्रतिक्रिया दिए । ‘माओबादी हैसियत नभएपछि एमालेमा समाहित भएको हो’ दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको एउटा कार्यक्रममा पोखरेलले भने–‘माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारीक र व्यवहारीक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको छ ।’
कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलिय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको भनाई राखे । उनले माओवादी केन्द्रको हैसियत ४० प्रतिशत नभएको तर एमालेले छाती ठूलो पारेर दिएको दाबी गरे । ‘माओबादीलाई ४० प्रतिशत दिने उसको हैसियत नै छैन’ उनले भने ।
हैसियत नभएपछि माओबादी एमालेमा समाहित हुन आएको हो ः एमाले नेता पोखरेल
