पर्वत, भदौ २५–नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रले समयमा महसुल नतिर्नेमाथि कडाई गरेको छ । बिद्युतको कडाईपछि उपभोक्ताहरु धमाधम बक्यौता रकम बुझाउन आउन थालेका छन् । दुई साता यता प्राधिकरणले कडाई गरेपछि कुश्मा, पातिचौर, मिलनचोक, फलेबासमा दैनिक घुइचो लाग्न थालेको छ ।
प्राधिकरणले समयमा महसुल नतिरि बक्यौता थुपार्नेको बिद्युत लाइन नै काट्न थालेपछि महसुल तिर्नेको घुइचो लागेको प्राधिकरण पर्वत बितरण केन्द्रका प्रमुख बिजयराज रेग्मीले जानकारी दिए । ‘केही दिनयता बिजुलीको महसुल नतिरेकाहरु धमाधम तिर्न आइरहेका छन्, बढी नै अटेर गर्नेको लाइन काट्न समेत पछि परेका छैनौ’ रेग्मीले भने–‘लाइन नै काट्न थालेपछि महसुल तिर्नेको संख्या बढेको छ ।’
कुश्मामा हरेक दिन र फलेबास, मिलनचोक र पातिचौरमा प्राधिकरणले महसुल बुझाउनका लागि दिन नै तय गरेको छ । जलजला गाउँपालिकाको मिलनचोकमा हरेक १ गते, फलेबास नगरपालिकामा हरेक महिनाको ७ र २१ गते, मोदी गाउँपालिकाको पातिचौरमा १३, १४ र २८ गते महसुल बुझाउन मिति तय गरेको पर्वत बितरण केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए ।
यसअघि मिटर रिडिङ गरिएको मितिले तीन महिनासम्म महसुल तिर्नुपर्ने भएपनि अहिले ६० दिनभित्र भुक्तानी गरिसक्नुपर्छ । तर केही उपभोक्ता र सरकारी कार्यालयले लाखौ रुपैयाँ बक्यौता हुँदा समेत महसुल बुझाएका छैनन् । अब कसैलाई पनि छुट नदिई बिद्युत काटिने रेग्मीले बताए । ‘सेवा लिएपछि पैसा तिर्नुपर्छ भनेर अब कति सिकाउनु, अब बिद्युत काट्ने नै हो’ उनले भने–‘महसुल नतिरेपछि एक साता यता दैनिक रुपमा लाइन काट्न थालेका छौ ।’
उनले समय तोक्दा पनि अटेर गरेपछि एक सातादेखि बिद्युत लाइन नै काट्न थालेको जानकारी दिए । उनका अनुसार बिद्युत प्राधिकरणले तीन दर्जन उपभोक्ताको घरमा जाने बिद्युत लाइन काटिसकेको छ । पर्वत बितरण केन्द्रले मासिक रुपमा ६० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म बिद्युत महसुल उठाउदै आएपनि लामो समयदेखि उठ्न नसकेको बक्यौता ३० लाख रुपैयाँ रहेको छ ।
केही उपभोक्तालाई प्राधिकरणले कालोसुचीमा राखेर कारबाही थालेको छ । अटेर गरेर कालोसुचीमा पर्ने उपभोक्ताबाट प्राधिकरणले छ लाख रुपैयाँ उठाउन बाँकी छ । त्यस्तैगरी सरकारी कार्यालयमा समेत बक्यौता रकम उठ्न सकेको छैन । सबैभन्दा बढी बक्यौता जिल्ला स्वास्थ्य कार्यालय र त्यस मातहत रहेका कार्यालयले तिर्न बाँकी रहेको छ । पर्वत अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र र चौकीले गरी १० लाख रुपैयाँ बढी रकम बुझाउन बाँकी छ ।
रेग्मीले अन्य केही सरकारी कार्यालयले पनि बक्यौता रकम नबुझाएका कारण क्रमिक रुपमा सार्वजनिक गर्दै बिद्युत काट्दै जाने चेतावनी दिए । ‘समयमा महसुल तिर्न अटेर गर्नेलाई अब छुट दिन सकिदैन’ उनले भने–‘बिद्युत काट्नुको बिकल्प रहेन् ।’
बिद्युतको कडाई, अटेर गर्नेको लाइन काट्न थालियो



