spot_img

जलजलाले थाल्यो शैक्षिक सुधार

पर्वत, भदौ २५–शैक्षिक सुधारका लागि जलजला गाउँपालिका र त्यहाँका प्रधानाध्यापकले १६ बुँदे प्रतिबद्धता जनाएका छन् । शिक्षा दिवसको सन्दर्भमा गाउँपालिकाका ५२ वटै बिद्यालयका प्रधानाध्यापकको उपस्थितिमा शैक्षिक गुणस्तर सुधार गर्नेगरी गाउँपालिकाले प्रतिबद्धता पारित गरेको हो ।
गाउँपालिकाले आवश्यक भौतिक पूर्वाधार निर्माण, शिक्षकको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउने, प्रधानाध्यापकहरुले अंग्रेजीमाध्यममा अनिवार्य पढाउने, बिद्यालय समयभित्रै बिद्यालयमा शिक्षक तथा बिद्यार्थी प्रवेश गरिसक्नुपर्ने लगायतका प्रतिबद्धता जनाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले शैक्षिक गुणस्तर सुधारको अभियानलाई गाउँपालिकाले प्राथमिकतामा राखेर प्रतिबद्धता पारित गरेको जानकारी दिए । ‘खस्कदै गएको गुणस्तरलाई कसरी उकास्ने नै भन्नेमा केन्द्रीत भएर गाउँपालिकाले गर्नुपर्ने र बिद्यालयले गर्नुपर्ने विषयमा आ–आफ्ना प्रतिबद्धता जनाएका छौ’ मल्लले भने ।
राज्यले सामुदायिक बिद्यालयमा बर्षेनी करोडौ रुपैयाँ लगानी गरेर पाठयक्रम, तालिम, भौतिक संरचनामा खर्च गरेपनि शैक्षिक गुणस्तर बढ्न नसक्नु दुर्भाग्य भएको भन्दै मल्लले निश्चित समयभित्रै नतिजा देखिनेगरी सुधार गर्न लागिएको जानकारी दिए । ‘केही समयभित्रै नतिजा देखिनेगरी शैक्षिक सुधार गर्ने योजनामा छौ’ उनले भने–‘गाउँपालिकाले गर्ने कुरामा कुनै कसर बाँकी राख्दैनौ, त्यो शिक्षक र बिद्यार्थीले पनि मनन् गर्नुप¥यो ।’
जलजला गाउँपालिकामा कक्षा–१ देखि १२ सम्म चार वटा, कक्षा–१ देखि १० सम्म छ वटा, कक्षा–१ देखि ८ सम्म तीन वटा, कक्षा–१ देखि ५ सम्म ३२ वटा र छ वटा बालबिकास केन्द्र रहेका छन् । जलजला गाउँपालिकामा सात वटा निजि बिद्यालय रहेका छन् । गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत भिमप्रसाद अर्याल, शिक्षक संघ पर्वतका पूर्वअध्यक्ष मुरारी शर्मा, नेपाल शिक्षक संगठन पर्वतका अध्यक्ष कृष्ण पराजुली, स्रोतब्यक्ति कमल आचार्य, सुमन्तराज सुवेदीले शैक्षिक सुधारका लागि स्थानीय सरकार र बिद्यालयको प्रतिबद्धता सकारात्मक भएको बताए ।
जलजला गाउँपालिका–२ का वडा अध्यक्ष एवम् शिक्षा समितिका संयोजक गोबिन्द खत्रीले शैक्षिक सुधारका लागि जिम्मेबार तहमा बसेका निकायबाटै सुधारको खाँचो रहेको बताए । ‘गाउँपालिकाले शिक्षा क्षेत्रलाई विकासको पहिलो खुडकिलोको रुपमा लिदै सुधार गर्न कस्सिएको छ, सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकले साथ दिनुपर्छ’ उनले भने ।

spot_img

भर्खरै