
पर्वत, साउन १०–प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । काँग्रेसबाट हुने मन्त्रीहरुको अन्तिम नामावली तयार गर्दै देउवाले आजै मन्त्रीपरिषद बिस्तार गर्न लागेका हुन । देउवाले पर्वतबाट तीन पटक निर्वाचन जितेका अर्जुनप्रसाद जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
२०४६ सालको परिवर्तन यता नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी, राप्रपालगायत दलका नेताको नेतृत्वमा थुप्रै सरकार बने पनि पर्वत जिल्लाबाट मन्त्री बन्ने जोशी पहिलो हुनेछन् । देउवाले काँग्रेस केन्द्रीय सदस्य जोशीसँगै मीन विश्वकर्मा, विरबहादुर बलायर, अम्बिका बस्नेत, बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, भिमसेनदास प्रधान र मोहनबहादुर बस्नेत काँग्रेसबाट मन्त्री हुने भएका छन् ।
त्यस्तै काँग्रेसबाट कमला पन्त र सरिता प्रसाई मध्ये एकजना मन्त्री हुनेछन् । त्यस्तै एमाओबादी केन्द्रबाट गिरिराजमणी पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सिता नेपालीलगायत मन्त्री हुने भएका छन् ।
नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी १६ बर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापति भए । तीन कार्यकाल पार्टीको केन्द्रीय सदस्य । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्वत–१ बाट बिजयी भएका जोशी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत लोभलाग्दो मत ल्याएर बिजयी भए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धेरै जिल्लामा काँग्रेस एमालेका प्रभावशाली र शिर्ष नेताहरु पराजित हुदा समेत जोशीले पर्वत–१ मा राम्रो मतसहित बिजयीको झण्डा गाडेका थिए । नेतृत्वको चाकडी र चाप्लुसीमा विश्वास नगर्ने जोशीलाई तीन÷तीन पटक जनताबाट अनुमोदन हुदा पनि काँग्रेस नेतृत्वले मन्त्री पद पत्याउन सकेको थिएन । अहिले देउवालाई नै सहयोग गरेका कारण मात्रै उनी केन्द्रीय सदस्यमा हार्नुपरेको थियो । यसपटकको मन्त्रीपरिषद बिस्तारका क्रममा देउवाले जोशीलाई न्याय गर्न लागेका हुन ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बनाउने देउवाले प्रस्ताव गरेपनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित मागेर मन्त्री पद त्यागेका जोशीलाई देउवाले यसपटक मन्त्री बनाउन लागेका हुन । जोशीलाई मन्त्री बनाउने देउवाले अन्तिम नामलिष्ट तयार गरेपछि पर्वतमा काँग्रेस कार्यकर्ताले खुशी भएका छन् ।
नेपाली काँग्रेसभित्र लगातार चुनाव जित्नेमध्ये नेता जोशी, पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पर्छन । आफु हारेर पनि शेरबहादुर देउवालाई पार्टी सभापतिमा बिजयी बनाउन महत्वपूर्ण भुमिका खेलेका जोशीलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
मन्त्रिपरिषद बिस्तार हुँदै, पर्वतले पहिलो मन्त्रीका रुपमा जोशीलाई पाउदै


