spot_img

आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन

काठमाडौँ, ३ पुस –

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आज आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । अशोक थापाले निर्देशन गर्नुभएको ‘द ड्रिम अफ रियालिटी’ नामक वृत्तचित्रमा दोलखाका गणेशकुमार फुँयालको यथार्थ जीवनमा आधारित कथालाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको थियो । वृत्तचित्रमा ३८ वर्षीय फुँयाल कामको सिलसिलामा एक वर्षअघि मलेसिया गएपछि काम गर्दागर्दै दुर्घटनामा परी उनको दुवै खुट्टा काट्नु परेको र अहिले उनी स्वदेशमै उपचारको क्रममा रहेको हृदयविदारक दृश्य देखाइएको छ ।

अलजजिरा इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिवल, बगदाद इन्टरनेसनल फिल्म फेस्टिवललगायतका प्रतिस्प्रर्धामा सम्मानित भएका निर्देशक थापाले मलेसियाको एस के बस कम्पनीमा कार्यरत फुँयालको घटनाका बारेमा कानुनी कारबाही अघि बढिरहेको जानकारी दिनुभयो । श्रम मन्त्रालयका सचिव शान्तकुमार श्रेष्ठले वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा बाहिर जानुअघि कामको प्रकृति अनुसारको सीप सिक्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले पनि छोटो अवधिका विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

त्यसैगरी सो कार्यक्रममा बेलायतका निर्देशक पिटर प्याटेसनले निर्माण तथा निर्देशन गरेको वृत्तचित्रमा लेबनानमा भएका नेपाली महिला र कतारमा भएका नेपाली आप्रवासीको अवस्थालाई पनि देखाइएको थियो । प्रत्येक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ ।

spot_img

भर्खरै