spot_img

प्रभावकारी बन्दै मुख स्वास्थ्य परियोजना, सबै वडामा लागु गर्नुपर्नेमा जोड

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा सञ्चालित मुख स्वास्थ्य परियोजना प्रभावकारी बन्दै गएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९ र ११ मा सञ्चालित परियोजना प्रभावकारी बनेपछि नगरका सबै वडामा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेपछि अहिले कहिल्यै दाँत नमाझ्नेहरु नियमित दाँत माझ्न थालेका छन् । कार्यक्रम लागु भएका छ वटा वडामा राम्रो उपलब्धीपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सबै वडामा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मुख स्वास्थ्य परियोजना अत्यन्त महत्वपूर्ण रहेकोले नगरपालिकाले सहकार्य गरेको उल्लेख गर्नुभयो । कुश्माका छ वटा वडा मात्र नभएर १४ वटै वडाले लाभान्वित हुने गरी परियोजना सञ्चालन गर्नका लागि नगरपालिकाले थप सहकार्य गर्न तयार रहेको जोशीले बताउनुभयो । ‘बाँकी वडामा पनि यो परियोजना सञ्चालन गर्नका लागि नगरपालिका सहकार्य गर्न तयार छ’ उहाँले भन्नुभयो–‘अर्को आर्थिक बर्षमा सबै जनप्रतिनिधिसंग बसेर बाँकी वडामा पनि कार्यक्रम लागु गर्न छलफल गर्छौ ।’
सही रुपमा मुखको स्वास्थ्यमा ध्यान नदिदा नै हरेक प्रकारका रोगहरु हाम्रो शरिरमा देखा पर्ने भएकोले पनि नगरपालिका मुख स्वास्थ्य परियोजना स्वीकार गरेर अगाडी बढेकोे धारणा जोशीले राख्नुभयो ।
कार्यक्रममा मुख स्वास्थ्य परियोजनाका कार्यक्रम निर्देशक सरस्वती पुरीले हालसम्म भएका प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक बर्ष कुश्मा ९ र १० मा यो कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आर्थिक १, २, ६, ९, १० र ११ मा यो परियोजना सञ्चालन भइरहेको छ । साप्ताहिक दन्त क्लिनिक, विद्यालय मुस्कान कार्यक्रम, विद्यालय स्क्रीनिङ तथा सचेतना कार्यक्रम र समुदाय स्क्रीनिङ तथा सचेतना कार्यक्रम गरी चार चरणमा कार्यक्रम हुने कार्यक्रम निर्देशक पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम लागु भएका वडाका विद्यालयका सबै बालबालिका लक्षित गरेर परियोजना सञ्चालन हुनेछ ।
विद्यालयका बालबालिका र समुदायस्तरमा समेत मुखको सरसफाई नभएकै कारण धेरै प्रकारका रोग भित्रिने भन्ने कुरामा ध्यान नदिदा समस्या आएको भन्दै पुरीले मुख स्वास्थ्य सेवा अभिबृद्धि र समग्र सुधार गर्ने नै परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार मुखको स्वास्थ्यमा ध्यान नदिदा पाँच बर्षमुनीका ६७ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या देखिएको छ । त्यसैगरी १२÷१३ बर्षमुनिका ४१ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या फेला परेको पनि पुरीले जानकारी दिनुभयो । यो कार्यक्रम कुश्माका छ वटा वडामा सन् २०२७ सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कार्यक्रम निकै सान्दर्भिक भएकोले आगामी बर्षदेखि अन्य वडामा पनि सञ्चालन गर्नका लागि बजेटको ब्यवस्था मिलाउन जनप्रतिनिधिहरुसमक्ष अनुरोध गर्नुभयो ।
बैठकमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, वडा नम्वर २ का अध्यक्ष लालकृष्ण बाँस्तोला, ६ का अध्यक्ष इश्वर गिरी, ९ का अध्यक्ष राम शर्मा लामिछाने, १० का अध्यक्ष रामचन्द्र सुबेदी, ११ का अध्यक्ष बाबुराम पौडेल, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । पर्वतसहित बागलुङ, कास्की र लमजुङमा गरी चार वटा जिल्लामा जिभाय नेपालले मुख स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको छ ।

spot_img

भर्खरै