spot_img

मालढुङ्गा-बेनी सडक आजदेखि २० दिन दैनिक ६ घण्टा बन्द हुने

पर्वत : मालढुङ्गा–बेनी सडक सोमबारदेखि दैनिक छ घण्टा बन्द छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि मङ्सिर २० गतेसम्म बन्द गर्ने निर्णय भएको हो। यससँगै पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिका–३ वारी बेनीसम्म आवतजावत बन्द हुने बेनी-जोमसोम–कोरला सडक आयोजना प्रमुख तेजश्वी शर्माले बताए। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार आयोजना भएको सर्वपक्षीय बैठकबाट बिहान १० बजेखि अपराह्न चार बजेसम्म ६ घण्टा सडक बन्द गरेर कालोपत्रेको काम गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार सवारी सञ्चालन भएकै अवस्थामा सडकमा कालोपत्रे बिछ्याउँदा बिग्रिने तथा सवारीका कारण काम समेत ढिला र अलपत्र हुने भएपछि काम गर्ने मुख्य समयमा सडक बन्द गर्ने निर्णय भएको हो। कालोपत्रे गर्ने प्रयोजनका लागि कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमको अनुरोधमा सडक बन्द गर्ने निर्णय भएको हो।

उक्त अवधिमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनहरू भने सञ्चालन हुने पाउने तर ती बाहेकका सवारीहरूले भने वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ। मालढुङ्गादेखि जलजला गाउँपालिकाको वडा नं। ८, ७, ४ र ३ हुँदै म्याग्दीको बेनी जोड्ने यो सडक खण्डलाई दुई लेनको हुने गरी ११ मिटर फराकिलो बनाएर कालोपत्रे गरिँदै छ।

मालढुङ्गा–बेनी सडक खण्डको विकल्पको रूपमा मालढुङ्गाबाट बागलुङ हुँदै म्याग्दीको रत्न चौरबाट बेनी पुग्न सकिन्छ। केही साँघुरो भए पनि उक्त सडक समेत कालोपत्रे रहेकोले कालोपत्रे हुने अवधिमा सवारीहरूले सास्ती बेहोर्नु नपर्ने आयोजना प्रमुख शर्माले बताए। मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको बताउँदै उनले सडक फराकिलो पार्ने, नाली र पर्खाल बनाउने, बेस र सब बेस राख्ने काम सकेर कालोपत्रे गर्न लागिएको जानकी दिए।

यो सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिँदै छ। कालोपत्रे र आवश्यक स्थानमा ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ सालको चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो। २०७९ मा सम्पन्न भइसकेको हुनुपर्ने भए पनि लक्ष्य भन्दा तीन वर्ष ढिला गरी सडक कालोपत्रे हुन लागेको हो।

समयमा काम नहुँदा निर्माण पक्षलाई जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरूले चर्को दबाब दिँदै आइरहेका थिए। यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्ने गरेका छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत २०५२ सालमा ‘ट्रयाक’ खुलेको मालढुङ्गा–बेनी सडक खण्ड २०६८ सालमा कालोपत्रे गरिएको थियो।

spot_img

भर्खरै