पर्वत/भूमि बैंक अवधारणाप्रति नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको अवरोधले रोकिएको बिहादीको नीति, कार्यक्रम तथा बजेट बिहिबार पारित भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि सहमतिमा नआएपछि गाउँपालिकाले भुमि बैंक अवधारणा बिना नै नीति, कार्यक्रम र बजेट ल्याएको हो । तीन बर्षदेखि भुमि बैंकका लागि जुध्दै आएका अध्यक्ष परविन गुरुङ अल्पमतमा पर्दा राम्रो र जनमुखी कार्यक्रम आर्थिक बर्ष ०८२/०८३ मा पनि कार्यान्वयन नहुने भएको छ । यद्यपि गाउँपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि ४५ करोडको बजेट बिहिबार सर्बसम्मत पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष परविन गुरुङले बढ्दो युवा पलायनलाई रोकेर बाझो रहेको जमिनलाई उपयोग गरी रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम ल्याउन पहल गर्दै आउनुभएको थियो । तर यसपटक पनि आफ्नो त्यो प्रस्ताव राजनीतिक रुपमा असफल पारिएको गुरुङले सामाजिक सञ्जालमा दुःख ब्यक्त गर्नुभएको छ । ‘तोकिएको समयमा बजेट ल्याउनैपर्ने बाध्यकारी भएका कारण राम्रो कार्यक्रम ल्याउन एमालेबाट निर्वाचित जनप्रतिनिधिले नमानेपनि नीति, कार्यक्रम र बजेट ल्याएको छ’ उहाँले भन्नुभयो–‘बाँदर नियन्त्रणदेखि झाडी फडानी, कुकाठ फडानीदेखि खेतीयोग्य जमिनको संरक्षणको साथ बाँझो जमिनको उपयोग, युवाको रोजगारी, कृषिमा आधुनिकरण समेटेर स्पष्ट खाका र कार्यविधि बनाएर पेश गरे, छलफल ग¥यौ तर दुर्भाग्य, यो दुरदर्शी योजना दलगत स्वार्थ र ब्यक्तिगत अहंकारको सिकार बन्न पुगेको छ ।’
आफुले आगामी आर्थिक बर्षका लागि भुमि बैंक अवधारणा लागु गर्न ३० लाखको प्रस्ताव पेश गरेपनि बहुमतको बलमा घटाएर विविध परामर्श भनेर १० लाख बिनियोजन गरिएको गुनासो अध्यक्ष गुरुङले गर्नुभयो । ‘संविधानअनुसार असारभित्र नीति तथा बजेट पास गर्नुपर्छ, म पालिकालाई अनिर्णयको बन्दी बनाउन चाहिन, त्यसैले यस्तो कानुनी बाध्यता, कानुनी सीमा र बिषम परिस्थितिसंग गाउँपालिकाको अभिभावक तथा नेतृत्वकर्ताको नजरले सहमति गर्नैप¥यो’ गुरुङले भन्नुभयो ।
भुमि बैंक अवधारणाबाट अध्यक्ष पछाडी फर्केपछि मात्रै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बजेट ल्याउन सहमत भएका हुन । बिहिबार पेश भएको नीति तथा कार्यक्रम र बजेट भने सर्बसम्मत पारित भएको छ । नीति तथा कार्यक्रम अध्यक्ष परविन गुरुङ र बजेट उपाध्यक्ष मिना शर्मा तिवारीले पेश गर्नुभएको थियो । आगामी आर्थिक बर्षका लागि बिहादी गाउँपालिकाले ४५ करोड ३२ लाख ८१ ह्जार तीन सय ३२ रुपैँयाको बजेट पारित गरेको छ । बजेटको चालुतर्फ ३३ करोड ८९ लाख १५ हजार चार सय २२ रुपैयाँ र पुँजीगततर्फ ११ करोड ४३ लाख ६५ हजार नौ सय १० रुपैयाँ रहेको छ । बिहादीका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसालले असार महिनाभित्र बजेट पारित गर्नुपर्ने कानुनी बाध्यताका बाबजुद नीति तथा कार्यक्रम र बजेट पारित भएको जानकारी दिनुभयो ।



