पर्वत–कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएको छ । सोमबार आयोजित एक समारोहका बिच कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभएको हो । नगरभित्रका जन्मेदेखि १५ महिनासम्मका पाँच सय एक जना र १६ महिनादेखि २७ महिनासम्मका चार सय ३२ जना बालबालिका सबैले नियमित रुपममा सबै प्रकारका खोप लगाइरहेको सुनिश्चित गरेपछि पुर्ण खोप युक्त पालिका घोषित गरिएको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका ३६ वटा खोप केन्द्र र ४० वटा खोप सेसन मासिक रुपमा संचालन हुँदै आएको छ ।
सरकारले १३ वटा रोग विरुद्धका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टकार, हेपाटाइटिस वि, हेमोफिलिस, इन्फ्लुएन्जा, पोलियो, दादुरा, रुवेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाईटिस, टाइफाईट र रोटा भाईरस बिरुद्धको खोप उपलब्ध गराउँदै आएको छ ।
पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगरभित्रका खोप लगाउने उमेर समुहका सबै बालबालिकाहरु खेप पाउनबाट बञ्चित हुन नहुने भएकोले नियमित खोप पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकारप्रति नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसलाई अझै प्रकावकारी रुपमा संचालन गर्न नगरभित्रका स्वास्थ्यकर्मीलाई निर्देशन दिदै स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रलाई नगरले सधैँ प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले घोषणापछि पनि नियमित रुपमा बालबालिकाको खोपप्रति सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य, कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वर गिरी लगायतले बोल्नुभएको थियो ।
कुश्मा नगरपाकिलाका स्वास्थ्य संयोजक यामप्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रमको स्वागत खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाथ सुबेदी र खोप अभियाना बारेमा कटुवाचौपारी स्वास्थ्य चौकीका प्रमुख अमृता कडेलले जानकारी गराउनुभएको थियो । कार्यक्राममा उतकृष्ट स्वास्थ्यकर्मी र १४ वटै वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।



