पर्वत, पछिल्लो समयमा लागु औषध दुर्व्यसनी र लागु औषध कारोबारी बढ्न थालेपछि कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतले सक्रियता बढाएका छन् । प्रहरीसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुर्व्यसनी न्यूनिकरणका लागि बिद्यार्थी सचेतना अभियान सञ्चालन गरेको छ ।
मंगलबारसम्म नगरपालिकाले बजारक्षेत्रका पाँच वटा बिद्यालयमा बिद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुर्व्यसनीकाे संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन गरेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । ‘पछिल्लो समयमा लागुऔषध दुर्व्यसनी र कारोबारीको संख्या बढेको थाहा भएपछि बजारभित्रका बिद्यालयमा बिद्यार्थी लक्षित सचेतना कार्यक्रम अगाडी बढाएका छौ’ उनले भने ।
नगरपालिकाले नारायण मावि, शिवालय मावि, नमुना आवासिय मावि, गुरुकुल एकेडेमी र राष्ट्रिय बाल शिक्षा सदन आवासिय मावि गरी पाँच वटा बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । पाँच वटा बिद्यालयका कक्षा ६ देखि १२ सम्मका चार सयबढी बिद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
पाँच वटै बिद्यालयमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक निरबहादुर बाँनियाले सहजीकरण गरेका थिए । बाँनियाले विद्यार्थीहरुलाई लागू पदार्थ दुब्यर्सनीमा नलाग्न अनुरोध गर्दै लागू पदार्थ दुर्व्यसनीकाे स्वास्थ्यमा पार्ने प्रभाव, पारिवारिक अवस्था, सामाजिक अवस्था, मानप्रतिष्ठाका विषयमा विषयकेन्द्रित छलफल सञ्चालन गरेका थिए ।
विद्यालय केन्द्रित अभियानबाट विद्यार्थीहरुमा सचेतना अभिबृद्धि हुने र लागुऔषध दुर्व्यसनी न्युनिकरणका लागि सहज हुने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए । कलिलो उमेरमा लागू पदार्थ दुब्यर्सनीमा फस्दै जाँदा त्यसले ब्यक्तिको भविश्व अध्यारो हुने भन्दै यस्ता कुलत कार्यमा लाग्नबाट रोक्ने विद्यार्थी स्वयम्, अभिभावक र शिक्षक समेत सचेत रहनुपर्ने धारणा पौडेलको रहेको छ ।
लागुऔषध दुब्र्यसनी रोक्नका लागि बिद्यालय तहदेखि नै सञ्चालन हुने अभियानले महत्वपुर्ण भूमिका खेल्ने कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुबेदीले बताए । कुश्मा नगरपालिकाका अधिकृत देवीकुमारी पौडेलले बिद्यार्थीहरुमा साथीसंगतका कारणले पनि दुर्व्यसनीमा फस्न सक्ने भएका कारण सबै बालबालिकालाई सचेत गराउनुपर्नेमा जोड दिइन ।