पर्वत/गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी हेम शर्मा पाैडेलले बताए ।
उनका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो ।
तर पहिले नै व्यवसायीहरूले थाहा पाएपछि उक्त बैठकको एजेन्डामा प्रवेश गरेन । यद्यपि व्यवसायीका आन्दोलन यथावत् छ । व्यवसायीहरूले चाहिँ रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन् ।