पर्वत/ जलजला गाउँपालिकाको निर्णयपुस्तिका कार्यपालिका सदस्यले खोसेर भागेकी छन् । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी हुन । बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको जलजला गाउँपालिकाले जनाएको छ ।
दुई वटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानुनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चार वटा बिषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए । त्यही क्रममा बरुवालले निर्णयपुस्तिका नै खोसेर हिडेकी हुन ।
जलजला गाउँपालिकाको कानुनअनुसार बिषयगत समिति गठन गर्दा सर्बसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले बिषयगत समिति गठन गर्नसक्ने ब्यवस्था रहेको छ । जलजला गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले बिषयगत समिति तोक्नसक्ने उल्लेख छ । सोही कानुनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चार वटा बिषयगत समितिको घोषणा गरेका थिए ।
आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपत्मा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । अध्यक्षले बिषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन । गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानुनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए । ‘छ वटा बिषयगत समितिमध्ये तीन वटा रोज्नुस् भन्दा उहाँहरु मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीन वटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’ अध्यक्ष आचार्यले भने ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सर्बसम्मत बनाउनका लागि अधिकतम प्रयास भएको बताए । ‘सबैको सम्मान हुनेगरी सबैको सहमतिमा गरौ भनेकै हौ’ उनले भने–‘छ वटा समितिमध्ये तीन÷तीन गर्ने बिषयमा उहाँहरु सहमतिमा आउनुपथ्र्यो ।’ गाउँपालिकाको निर्णयपुस्तिका लुटिएपछि पालिकाले कार्यपालिका सदस्यका बिरुद्ध प्रहरी प्रशासनमा निवेदन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरेपनि अहिलेसम्म फिर्ता नल्याएको बताए ।
कार्यपालिका सदस्य बिमला बरुवालले बहुमतको कदर नभएपछि उठेर हिँडेको तर निर्णयपुस्तिकाका बिषयमा थाहा नै नभएको बताइन । ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौ, माइन्युटको बिषयमा कुनै थाहा भएन’ बरुवालले भनिन् । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् ।
बैठकको निर्णयपुस्तिका कार्यपालिका सदस्यले खोसेर भागेपछि…


