पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगादेखि जलजला गाउँपालिका ३ सम्मको मालढुंगा–बेनी सडक आज शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको बैठकले बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि भिर काट्नुपर्ने भन्दै आजदेखि ३० दिनका लागि दैनिक चार घण्टा सडक बन्द गर्न लागेको हो । यो सडक आजदेखि असार ३२ गतेसम्म बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म बन्द रहने भएको हो ।
करिडोरका योजना प्रमुख जगत प्रजापतिले दैनिक चार घण्टा बाटो बन्द गरेर सडक चौडा पार्ने र चट्टान काट्ने काम गर्न लागिएको जानकारी दिएका छन् । कटिङको काम जोखिमपूर्ण भएका कारण सवारी साधन रोकेरै काम गर्नुपरेको उनले बताए । अत्यावश्वक सवारीसाधनहरुलाई भने समन्वय गरी आवतजावत गर्न सहजीकरण गर्ने पनि उक्त आयोजनाले जनाएको छ । उक्त अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न पनि आयोजनाले अनुरोध गरेको छ । यो सडक भएर म्याग्दीको बेनी जानका लागि बागलुङ भएर जान सकिन्छ । यसअघि गत २०७८ पुस १५ गतेदेखि माघ १४ गतेसम्म पनि यो सडक दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरेर काम गरिएको थियो । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजनाले सडक बन्द गर्नुपरेको दाबी गरेको छ । तर केही ब्यवसायी तथा स्थानीयले भने बिरोध गरेका छन् । आयोजनाले रातको समयमा वा बैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा दिउसोको समयमा घण्टौ बन्द गर्दा मारमा परेको उनीहरुको गुनासो रहेको छ । मालढुङ्गादेखि जलजला गाउँपालिकाको वडा नं. ८, ७, ४, ३ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने उक्त सडकलाई दुई लेनको बनाउन लागिएको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल पिचसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्रे गर्न लागिएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।



