पर्वत, असार ११–मध्यपहाडी राजमार्गअन्र्तगत कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा गाडीले किच्दा एक युवाको मृत्यु भएको छ । मोदीबाट कुश्मातर्फ आउदै गरेको ग२०प २३०५ नम्बरको मोटरसाइकलको पछिल्लो सिटबाट खसेको युवालाई ग२च ३६०१ नम्बरको गाडीले किच्दा ती युवाको मृत्यु भएको हो । हिजो गाडीले ठक्करले गम्भिर घाइते भएका मोदी गाउँपालिका वडा नम्बर ५ स्थित बाजुङको न्याउलेका १७ बर्षिय अर्जुन कुँवरको उपचारका क्रममा आज बिहान गण्डकी क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । १९ बर्षिय निष्कर्ष कुँवरले चलाएको मोटरसाइकल खरेहामा आइपुग्दा स्लीप खाएर पछाडी बसेका अर्जुन सडकमा खसेको र पछाडीबाट आएको गाडीले किचेको प्रत्यक्षीदर्शीले बताएका छन् ।
अर्जुनको निधन भएपछि प्रहरीले निष्कर्षलाई नियन्त्रणमा लिएको छ । निष्कर्षका आफन्तले भने मोटरसाइकलबाट खसेका कुँवरलाई ग२च ३६०१ नम्बरको गाडीले किचेर अर्जुनको मृत्यु भएको दाबी गरेका छन् । यो गाडी मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहार निवासी इन्द्रमान खत्रीको हो । प्रहरी नियन्त्रणमा रहेका निष्कर्षले खत्रीकै गाडीले किचेको भन्दै किटानी जाहेरी दिएको निष्कर्ष कुँवरका बाबु कृष्ण कुँवरले जानकारी दिए । उनीहरुले जिल्ला प्रहरी कार्यालयले घटनाको बास्तविकतातर्फ नगएर घटना तोडमोड गर्न लागेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी राजेन्द्र अधिकारीले भने घटनाको बिस्तृत बिबरण दिन अस्वीकार गरे । कार्यालयमा छु भनेका उनले घटनाको सबै बिबरण माग गरेपछि आफु कार्यालय बाहिर रहेको दाबी गरेका छन् ।


