पर्वत, असार २–अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले सेतीबेणीमा आठ वटा घर डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थलमा रहेको सेतीबेणीमा आज बिहान ती आठ वटा घरमा नदीको बाढी पसेर डुबाएको हो । पर्वततर्फका केही घरसम्म नदीको बहाब आएपनि स्याङ्जातर्फका ती घर डुबाएको हो । डुबाएका घर स्याङ्जाको गल्याङ नगरपालिका–५ मा पर्छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः ०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेको हो । केही दिनयता लगातार परेको पानीका कारण नदीको बहाब क्रमिक रुपमा बढ्दै जाँदा ती घरमा बसेका मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । अहिले डुबानमा परेका आठ घरका २४ जना बिस्थापित भएका छन् । अहिले पनि बर्षा लगातार बढ्दै जाँदा सेतीबेणीबजारबासी नै जोखिममा परेका छन् । केहीदिनयता बर्षा लगातार पर्दा त्यहाँका बासिन्दा निदाउन समेत पाएका छैनन् । रातभर त्रासले जाग्राम बस्न बाध्य भएको उनीहरुले बताएका छन् । अहिले अन्य घरसमेत डुबाउन सक्ने भएका कारण स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।


