
पर्वत, जेठ १४–कोरोना भाइरस (कोभिड–१९) अहिले समुदायस्तरमा फैलिरहेको छ । कोरोनाकै कारण पर्वतमा पनि दैनिक मृत्यु हुने क्रम जारी छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा कोभिड–१९ संग मिल्दाजुल्दा लक्षण देखिए पनि त्यसको जाँच गर्न नमान्ने गरेको पाइएको छ । कोभिड–१९ जाँच नगरेका ब्यक्तिसमेतको मृत्यु भएपनि अहिले शव उठ्न कठिनाई भएको छ । दोस्रो लहर आएपछि गाउँमा कतिपयले जाँच गर्न नमानेको र जाँच नभएका ब्यक्ति मर्दा समेत शव उठाउन स्थानीयले नमान्ने गरेपछि पर्वतको जलजला गाउँपालिकाले शव ब्यवस्थापन समिति बनाएको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्रीको नेतृत्वमा नेपाल तरुण दल जलजलाका अध्यक्ष प्रकाश पुन, समाज कल्याण प्राविका प्रधानाध्यापक डम्बर जिसी र गाउँपालिकामा कार्यरत तीन जना नगर प्रहरी रहेको शव ब्यवस्थापन टोली बनाएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘गाउँमा केही दिनयता दैनिक जस्तै मान्छेको मृत्यु भइरहेको छ, कतिपयले कोरोना परिक्षण गर्नै मानेका छैनन् । कोरोना परिक्षण नगरेका मान्छे मर्दा समेत स्थानीयले शव छुन डराए, शव नउठ्ने समस्या पछि शव ब्यवस्थापन समिति बनाएका छौ’ अध्यक्ष मल्लले भने । कोरोना कारण निधन भएका ब्यक्तिको शव ब्यवस्थापन गर्नका लागि नेपाली सेनालाई बोलाउने गरेपनि खर्चले धान्न नसकेको गाउँपालिकाले जनाएको छ ।
‘नेपाली सेनालाई बोलाएपछि गाडी पठाएर ल्याउन प¥यो, पु¥याउन प¥यो, फर्केपछि १२÷१३ दिनसम्म क्वारेन्टाइनमा बस्ने र त्यो अवधिमा पाँच हजारको दरले खर्च ब्यहोर्दा कम्तीमा एउटा शवको ब्यवस्थापन गर्न एक लाख लाग्ने भयो’ अध्यक्ष मल्लले भने–‘त्यसैले पनि गाउँपालिकाले नै शव ब्यवस्थापन गर्ने गरी टोली बनाएको हो ।’ अहिले गाउँमा अन्य रोगका कारण मान्छे मरेपनि शव उठाउने मान्छे नभएको मल्लले जानकारी दिए । कोरोनाका लक्षण देखिएपनि गाउँमा नभन्ने र लुकाउने समस्याले फैलिन पाएको अध्यक्ष मल्लले बताए । जलजला गाउँपालिकाले बिरामीको उद्धार, औषधोपचार, स्वास्थ्यकर्मी परिचालन, स्वास्थ्यसामाग्री बितरणलगायतमा राम्रो ब्यवस्थापन गर्दै आएको छ ।
कोभिड–१९ बिरुद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफै अग्रमोर्चामा खटिदै आएका छन् । उनले जलजला गाउँपालिकाको बिपत् कोषमा ब्यक्तिगत तीन लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै जलजला गाउँपालिकासहित पर्वतको कुश्मा नगरपालिका, फलेबास, मोदी, पैयूँ, महाशिला, बिहादी र बागलुङ, म्याग्दीसम्म पुगेर झण्डै सात लाखबढीको स्वास्थ्य सामाग्री बितरण गरिसकेका छन् । हरेक बिपत्का बेला साथ सहयोगमा अग्रभागमा देखिने मल्लले हालै मात्रै राजधानी पुगेर मुख्यसचिव शंकरदास बैरागीमार्फत जलजला गाउँपालिकामा २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री भित्राएका छन् ।


