पर्बत, जेठ ७-पैंयु गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर संक्रमितको घरघरमा पुगेका छन । संक्रमितको अवस्था बुझेर अावश्यक उपचारकाे ब्यवस्था मिलाउन गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमति गुरुङ, प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेसहित वडा अध्यक्षहरुले स्वास्थ्यकर्मी लिएर काेराेना संक्रमित बिरामीको घरघरमा पुगेका हुन । अहिले पैंयु गाउँपालिकामा ४६ जना सक्रिय संक्रमित रहेका छन । अध्यक्ष तिवारीसहितकाे टाेलीले गाउँपालिकाका ७ वटै वडामा पुगेर अाज शुक्रबार ४४ जना संक्रमितको घरमै पुगेर भेटघाट गरि स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएकाे पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार संक्रमितलाई अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङकाे नेतृत्वमा दुई वटा समूह बनाएर स्वास्थ्यकर्मी लिएर अवस्था जानकारी लिइएकाे हाे । पैंयू गाउँपालिका ७ वडा मध्ये वडा नम्बर १ टकलाकमा १३ जना, वडा नम्बर २ त्रिवेणीमा ७ जना, वडा नम्बर ३ बहुलीवासमा ५ जना, वडा नम्बर ४ हुवासमा १२ जना, वडा नम्बर ५ हुवास चिसापानीमा १ जना, वडा नम्बर ६ सरौंखाेलामा १ जना र वडा नम्बर ७ भोर्लेमा ५ गरी जम्मा ४४ जना सक्रिय संक्रमित होम आइशोलेशनमा रहेका छन् । १ जनामात्र अस्थायी कोभिड अस्पतालमा उपचाररत छन । गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार संक्रमित मध्ये ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको, ९ जनालाई सामान्य लक्षण देखिएको छ । शुक्रबार पैयू गाउँपालिका वडा नम्बर ४ का ६१ वर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्थायी कोभिड अस्पतालमा चेकजांच गर्दा अक्सिजन लेभल कम देखिएकोले थप उपचारका लागि पोखरा पठाइएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । संक्रमितलाई स्वास्थ्यकर्मीले अक्सिजन लेभल र ज्वरो जाँच गरिएको, भिटामिन सि, जिंक, प्यारासिटामोल लगायतका औषधी उपलब्ध गराएको थियो । होम आइशोलेशनमा वसेका संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रही सुरक्षित साथ बस्न र स्वास्थ्य समस्या आइपरेमा अस्थायी कोभिड अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका उपाध्यक्ष जसमति गुरुङले जानकारी दिनुभयो । संक्रमितको सम्पर्कमा आएका र कोभिड लक्षण देखिएका ब्यक्तिहरुको लागि पैंयू वडा नम्बर ३ स्थित साविक जेष्ठ नागरिक सेवा केन्द्र (हाल पिसिआर परिक्षण गर्ने केन्द्र बनाइएको) मा पि.सि.आर चेकजाँच गर्ने कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताउनुभयो ।


पैंयुका जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर संक्रमितको घरघरमा


