spot_img

केन्द्रीय सदस्य उम्मेदवारका लागि तिवारी सिफारिस, पर्वतमा प्रेस युनियनको नेतृत्वमा महासंघलाई साझा बनाउन घायलको नेतृत्वमा कार्यदल

पर्वत, चैत १०–नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउन नेपाल प्रेस युनियन पर्वत शाखाले पत्रकार छविलाल तिवारीको नाम केन्द्रीय समिति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको शाखाको बैठकले तिवारीलाई उम्मेदवार बनाउन सिफारिसका साथ जोडदार माग गर्ने निर्णय गरेको सचिव साजन परियारले जानकारी दिए । नेपाल पत्रकार महासंघ पर्वतका बर्तमान अध्यक्ष रहेका तिवारीले यसअघि नेपाल प्रेस युनियन पर्वत शाखाको दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । २०६१ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका तिवारी शुभ सन्देश साप्ताहिक, सारथीन्युजडटकमका सम्पादक हुन । आदर्श समाज दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिकमा लामो समय काम गरिसकेको अनुभव संगालेका तिवारीले पत्रकारिता सम्बद्ध मुद्दालाई जोडतोडका साथ उठाउदै काम गर्दै आएका छन् । यसैगरी नेपाल प्रेस युनियन पर्वत शाखाको बैठकले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा पर्वत शाखाको नयाँ नेतृत्व सर्बसहमत बनाउन सबै संगठनसँग बार्ता र संबाद अगाडीबढाउने निर्णय पनि गरेको छ ।

पर्वतमा पत्रकारसम्बद्ध पुरानो र सबैभन्दा ठुलो संगठन नेपाल प्रेस युनियनको नेतृत्वमा सबै संघसंस्था रहनेगरी नेपाल पत्रकार महासंघलाई साझा र सबैको अपनत्व हुने बनाउन बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक, पूर्वअध्यक्ष एवम् नेपाल प्रेस युनियन पर्वतका संस्थापक, पर्वतका बरिष्ठ पत्रकार ओमप्रसाद घायलको संयोजकत्वमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अगन्धर तिवारी, प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, आगामी अध्यक्ष उत्तमप्रसाद अधिकारी र केन्द्रीय प्रतिनिधि गणेशबहादुर क्षेत्री रहेको बैठकले कार्यदल गठन गरेको हो । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्ला शाखाको निर्वाचन यही चैत २५ गते हुँदैछ । यसपटक महासंघको निर्वाचनमा सबै साधारण सदस्यले मतदान गर्न पाउनेछन् । शाखा रहेका हरेक जिल्लामा मतदान गर्ने ब्यवस्था गरिएको छ । पर्वत शाखामा यसपटक ५४ जना पत्रकारले उक्त निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

spot_img

भर्खरै