पर्वत, जेठ ३२–कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती नै शव फेला परेको छ । अन्य छ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बेपत्ताा भएकाको खोजी कार्य जारी रहेको छ ।
पहिरोमा पुरिएर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको छ । उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती निकालिएको थियो । पहिरोले स्थानीय तुलबहादुर थापाको छ जना र कमला विकको तीन जनाको परिवार पुरिएको हो । घटनास्थलमा अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहित स्थानीयले पुरिएकाहरुको खोजी कार्य जारी राखेका छन् । शनिबार राती नौ बजेको समयमा पहिरो गएको अनुमान गरिएको छ । कुश्मा–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले तीन जनाको शव फेला परेको र अन्यको खोजी कार्यलाई तिब्रता दिइएको जानकारी दिए ।


