पर्वत, फागुन २४–जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूल लक्ष्य भएको वताएका छन् । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका वडा नम्बर ५, लेकफाँटको छैठौ साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताएका हुन । स्थानीय सरकारसँग जनताका अपेक्षाहरू धेरै भएपनि बजेटको ठूलो हिस्सा केन्द्र र प्रदेशमै सिमित हुने गरेकाले स्थानीय सरकारले परिकल्पना गरेका विकास र समृद्धिका एजेन्डाहरू ओझेलमा परेको जानकारी दिए ।‘जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । तर केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई आवश्यक बजेट दिएन । जसका कारण काम गर्न अफ्ठ्यारो छ’ अध्यक्ष मल्लले भने–‘बजेटको ठुलो हिस्सा केन्द्र र प्रदेशमै रहँदा स्थानीय सरकारले परिकल्पना गरेको विकास र सम्बृद्धिका योजना ओझेलमा परेको छ ।’
संघीय गणतन्त्रको मर्म र भावना अनुसार सिंहदरवारको अधिकार गाउँ–गाउँमा पु¥याउने हो भने स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने र सोही अनुसारको बजेट, अवसर र अधिकार प्रत्यायोजन गर्न केन्द्र सरकारसँग माग समेत गरे । ‘हामीले जनताको समस्या र आवश्यकतालाई नजिकबाट महशुस गरेका छौ, साँच्चिकै समाज र राष्ट्रलाई समृद्ध बनाउने होभने बजेटलाई विकेन्द्रित गर्नोस, गाउँ हामीले बनाउँछौं’ अध्यक्ष मल्लले भने ।
कालाञ्जर विराट ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष मल्लले हिन्दु धर्मशास्त्रमा वर्णित कालाञ्जर र हम्पाल क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा परिचित गराउन र विश्वका धार्मिक पर्यटकलाई जलजला र कालाञ्जरमा ल्याउने वातावरण बनाउन आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमै ऐतिहासिक विराट ज्ञान महायज्ञ गर्न लागिएको जानकारी दिए । जलजला क्षेत्रको प्रतिष्ठासँग जोडिएको उक्त महायज्ञलाई सफल बनाउन सबै जलजलाबासीहरुलाई उनले आग्रह गरे ।
मल्लले हरेक सामुदायिक बनलाई जनताको आय आर्जन र समृद्धिको माध्यम बनाउन बन उपभोक्ता समितिसँग आग्रह गरे । उनले सामुदायिक बनले जनताको आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याएमा जलजला गाउँपालिकाले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । अध्यक्ष मल्लले शुक्रबारनै लेकफाँटस्थित गिद्धेश्वर शिबालय मन्दिरमा निर्माण गर्न लागिएको सत्तलको शिलान्यास समेत गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य ओमप्रसाद रेग्मीले सामुदायिक बनलाई जनताको जीवन र गाउँको विकाससँग जोड्न सुझाव दिए । सदस्य रेग्मीले वन समन्वय समितिको कार्यक्रममा बन डिभिजन कार्यालयबाट कर्मचारी अनुपस्थित रहेकोमा दुख व्यक्त गरे । कार्यक्रममा जलजला गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी रवि, वडा नं ५ का वडाअध्यक्ष तिलकबहादुर जिसी, नेकपा पर्वतका सचिवालय सदस्य टुङ्गनाथ पौडेल, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेकपा लेकफाँटका अध्यक्ष डण्डपाणी सुवेदी र नेपाली काँग्रेस लेकफाँटका नेता गोविन्द पौडेल लगायतले बोलेका थिए ।
गाउँ वन समन्वय समिति लेकफाँटका अध्यक्ष लालबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं गाउँ वन समन्वय समितिका महासचिव यम शर्मा पौडेलले गरेका थिए । कार्यक्रमको संचालन सहसचिव भगवान आचार्यले गरेका थिए । कार्यक्रममा गाउँ वन समन्वय समितिका कोषाध्यक्ष चक्रबहादुर केसीले आर्थिक प्रतिवेदन र नारायण केसीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष मल्लले शुक्रबारै फड्केढुङ्गा (थामा–अर्जेत–लामापोखरी–लेकफाँट–शालिजा–हम्पाल सडकको अनुगमन समेत गरेका थिए । यो सडक बनेपछि लेकफाँट र शालिजाबासीलाई गाउँपालिका आवतजावतमा सहज हुने र प्रसिद्ध कालाञ्जर क्षेत्रको पहिचानका लागि समेत कोषेढुङ्गा सावित हुने दाबी जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले गरे । उक्त सडकको लागि जलजला गाउँपालिकाले फड्केढुङ्गा–लेकफाँट सडक खण्डको लागि एक करोड २५ लाख र शालिजा–हम्पाल सडक खण्डको लागि २० लाख बजेट बिनियोजन गरेको छ ।





