पर्वत, पुस २१–नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको दाबी गरेका छन् । नेपाल तरूण दल म्याग्दीको तरूण भेलालाई आइतबार बेनीमा सम्बोधन गर्दै गुरुङ्ले जबजब मुलुकमा संकट पर्दछ तब तरूण दलको भूमिका आवश्यक पर्दै आएको बताए । तरूण दलको स्थापना नै निरंकुशताको विरूद्धमा र राष्ट्रको मुक्तिका लागि भएको दाबी गर्दै उनले नेकपा सरकारले जनतालाई राहत भन्दा आहात थप्दै गएको टिप्पणी गरे ।
इतिहास भएको पार्टीले मात्र इतिहासको कुरा गर्न सुहाउने उल्लेख गर्दै कुनै इतिहास नभएको र हिंसाको जगमा उभिएर स्थापना भएको पार्टीबाट जनताले न्यायको आशा गर्नु दुर्भाग्य भएको वताए । गुरूङले वाम सरकारबाट राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारमाथि निरन्तर अतिक्रमण हुँदै गएको जानकारी दिँदै नागरिक अधिकारको रक्षा गर्न पनि काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ संस्थाहरूबीच एकता र सहकार्यको जरुरी रहेको बताए । उनले देशमा काँग्रेस कमजोर हुँदा देशको राष्ट्रियता समेत अफ्ठ्यारोमा पर्दै आएको उल्लेख गर्दै देशमा निरंकुशता, भष्ट्राचार र अत्याचारको अन्त्यका लागि पनि काँग्रेस बलियो हुनुपर्ने र काँग्रेस बलियो हुन जनताको विश्वास र साथ आवश्यकता रहेको धारणा राखे ।
नेता गुरुङले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने संकल्प लिएर सत्तामा पुगेका कम्युनिष्ट नेताहरू सत्तामा पुगेपछि सार्वजनिक जग्गा बेचेर रातारात अर्बपति भएको दाबी गर्दै केपी ओली र प्रचण्डको घरमा अवैध रुपमा राखिएको त्यो सम्पत्ति नेपाल तरूण दलले उनीहरुको घर फोरेर निकाल्ने उद्घोष गरे । उनले तरुणहरू काँग्रेसभित्रको आन्तरिक झगडा र गुट उपगुटको पछि नलागी पार्टी संगठनको पक्षमा लाग्न आग्रह पनि गरे । पदको जिम्मेवारी लिएपछि पदीय गरिमा र दायित्वलाई आत्मसाथ गरेर काम गर्नुपर्ने वताउँदै उनले पार्टीलाई बलियो बनाउन सांगठनिक अनुशासनमा रहेर काम गर्न तरुणहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले तरूण दलको स्थापना नै निरंकुश पंचायती शासनको विरुद्धमा भएकोले देशमा आउने सबैखालका अधिनायकवाद र निरंकुशताको खिलापमा लड्न तरूण दललाई आग्रह गरे । उनले तरूण दल पार्टीको बलियो शक्ति भएकोले पार्टीलाई परेका हरेक अप्ठ्याराहरुमा तरुणहरू एक भएर अघि बढ्न सुझाव समेत दिए । कार्यक्रममा नेपाल तरूण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले कम्युनिष्टहरू काम भन्दा हल्ला बढि गर्ने र जनतालाई ढाँटेर सत्तामा पुगेको वताउँदै कम्युनिष्टहरूको झुटको छिट्टै पर्दाफास हुने दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दी क्षेत्र ख का सभापति कमल छन्त्याल, नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य केवी भण्डारी, मनकुमारी विक, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य डा.चूडामणि शर्मा, नेपाल तरूण दल म्याग्दीका कोषाध्यक्ष हिरा पुन, नेपाली काँग्रेस मालिका गाउँपालिकाका सभापति खिम पुन र नेपाल विद्यार्थी संघ म्याग्दीका जिल्ला अध्यक्ष निर्मल खत्री लगायतले बोलेका थिए ।
नेपाल तरूण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन तरूण दलका सचिव सुमन बानियाँले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य तरूण दलका उपाध्यक्ष सोहन श्रेष्ठले गरेका थिए ।




