spot_img

हिन्दु धर्म, संस्कृति संकटमा छ, सबै एकजुट हुनुस् : देउवा

पर्वत, मंसिर २३–पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताएका छन् । आइतवार पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा आयोजित गौ महोत्सव एवम् महायज्ञलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले हिन्दु धर्म, संस्कार, सस्कृति र परम्परा जोगाउनलाई सवैजना ईमान्दार भएर लाग्न आग्रह गरेका हुन ।
गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सवमा सहभागी हुन आएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुमा नयाँ आशा जगाएको बताए । अत्यन्तै छोटो समय बोलेका देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र कालाञ्जर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने प्रतिबद्धता व्यक्त गरे । काँग्रेस सभापति देउवाले धर्म र काँग्रेसका बीचमा अन्योन्याश्रीत अन्तरसम्बन्ध रहेको दाबी गर्दै वर्तमान नेकपा सरकारले होलीवाईनसँग धर्मको सम्झौता गरेको दाबी गरे ।
यसै गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम सविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मालम्बीहरुलाई एक ठाउँमा ल्याएको बताए । उनले हिन्दु धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रह गर्दै जलजला क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने बताए । सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले गौमहोत्सवले गाईको संरक्षणसँगै धर्म र संस्कृतिको संरक्षणकालागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको बताए । नेपाली काँग्रेसका युवा नेता मल्लले गाई हिन्दुहरुको आमा समान रहेको उल्लेख गर्दै जन्मदेखि मृत्युसम्म गाईको अपरिहार्य आवश्यकता रहेकोले गौमहोत्सवबाट वैदिक गाईको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अध्यक्ष मल्लले गण्डकी गोपाल गौशालाको भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट ४० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्य लगायत समितिका पदाधिकारीहरुले सभापति देउवालाई स्वागत गरेका थिए । सभापति देउवालाई बाजागाजा, भजनकृतन सहित महोत्सव स्थलमा भव्य स्वागत गरिएको थियो । महोत्सवमा आईतवारसम्म झण्डै डेढ करोड रूपैयाँ बराबरको सहयोग संकलन भएको मूल आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिए । आइतबार संयोजक आचार्यले १० लाख सहयोगको घोषणा गरे । त्यस्तै जलजला वडा नम्बर ७ का अध्यक्ष टुंगनाथ शर्माले छ लाख, जलजला वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले पाँच लाख र वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्लले चार लाख बराबरको वडा कार्यालयबाट गौ महोत्सवलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

spot_img

भर्खरै