spot_img

संगठन सुदृढिकरणमा काँग्रेस युवा नेता मल्ल, बनौमा पुगेर भने–‘जनतामा नेकपाले देखाएको भ्रम हट्दैछ’

पर्वत, असोज १५–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनतामा देखाएको विकास र समृद्धिको भ्रम अव हटिसकेको बताएका छन् । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता बितरण एवम् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मल्लले यस्तो बताएका हुन ।
उनले चुनावअघि नेकपाले जनतामा ठुलो भ्रम सिर्जना गरेपनि यो अवधिमा सबै कुरा बुझिसकेको बताए । ‘अव नेकपाको भ्रम जनताले बुझिसकेका छन्, चुनावअघि जनतामा विकास र समृद्धि गर्ने नेकपा नै भएको बुझाई भएपनि सरकारमा गएको यो अवधिमा जनतालाई गरेका घातले अव जनता सचेत भइसकेका छन्’ उनले भने । उनले हालसम्मको लोकतान्त्रिक परिवर्तन र काम नेपाली काँग्रेसकै नेतृत्वमा सम्भव भएको र नेकपाले डेढ बर्षको सरकारको नेतृत्वकै क्रममा जनताका कुनैपनि काम गर्न नसकेको बरु विभिन्न काण्डमा मुछिएकाले पनि अव नेपाली काँग्रेसको विकल्प नभएको बताए ।
उनले नेकपा नेतृत्वको संघ र प्रदेश सरकारले विकासमा राजनीति गरेको दाबी गर्दै जनताले उनीहरुका भ्रमपूर्ण ब्यवहार चिनिइसकेको बताए । उनले जलजला गाउँपालिकाले गाउँपालिकामा भएको बजेट र विकास समानुपातिक रुपमा वितरण गरेको, कसैलाई काखा र पाखा नगरेको दाबी मल्लले गरेका थिए । उनले संघ र प्रदेश सरकारले जलजला गाउँपालिकाले माग गरेको बजेट, योजना नदिएर पूर्वाग्रह राखेको पनि बताएका थिए । उनले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

जलजला गाउँपालिकाले जनतालाई दिने सेवा र अवसरमा कुनै आग्रह÷पूर्वाग्रह नराखी काम गरेको दावी गर्दै सबै स्थानीय तहको प्राथमिकता जनताको विकास र समृद्धिका लागि हुनुपर्ने वताए । ‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सिंहदरवारको अधिकार गाउँमा जनताले पाउनु पर्नेमा जनतालाई सुशासन, अवसर र अधिकारको अनुभूति दिलाउन संघ र प्रदेश सरकारकै कारण सकिएको छैन’ उनले भने । मल्लले नेकपा सरकार चुनावअघि जनतालाई सपनाको व्यापार गरेर सत्तामा पुगेपनि अहिले महंगी, भ्रष्टाचार, अन्याय, अत्याचार र बलात्कारको चङ्गुलमा फसेको आरोप लगाए ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको सही कार्यान्वयन गर्नका लागि स्थानीय सरकारलाई शक्तिशाली र अधिकार सम्पन्न गराउनुपर्ने वताउँदै केन्द्र र प्रदेश सरकारको हस्तक्षेपकारी भूमिका आफूहरुलाई मान्य नहुने धारणा राखे । कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका नेतृ सिमा गर्बुजा पुनले जलजला गाउँपालिकाले विकास निर्माणका काममा सक्रिय भएर लागेको बताइन । उनले संघ र प्रदेश सरकारमा नेपाली काँग्रेसको उपस्थिति नहुँदा नै जलजलामा त्यहाँबाट आउने योजनामा विभेद भएको बताइन ।
कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, जलजला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल, नेपाली काँग्रेस जलजला वडा नं ३ का सभापति सोभियत बरुवाल, नेपाली काँग्रेस वनौका पूर्व सभापति कुलबहादुर पूर्जा र पूर्व गाविस अध्यक्ष बलबहादुर पुन, नेपाली काँग्रेसका नेता एवम् जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार याम शर्मा, तरुण दल बनौका अध्यक्ष अमर पुन, टकमाया पुनलगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा र राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी २५ जना व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा देविमाया चोचाङ्गी, अशोक चोचाङ्गी, जालमाया फगामी, गौमाया फगामी, टेकबहादुर पुर्जा, दलबहादुर चोचाङ्गी, दिलबहादुर फगामी मगर, अशोक फगामी मगर, बमबहादुर फगामी मगर, श्रीप्रसाद फगामी मगर, टेकबहादुर फगामी, देविमाया चोचाङ्गी, तिलक पूर्जा, माया गर्वुजा, नीरबहादुर पूर्जा र मनबहादुर फगामी रहेको नेपाली काँग्रेस पर्वत प्रदेश क्षेत्र क का सहसचिव जितबहादुर पुनले जानकारी दिए ।

spot_img

भर्खरै