spot_img

राष्ट्रिय मगर संघको अधिवेशन सम्पन्न, ओली सरकारबाट जनताले झन दुःख पाएको जोशीको दाबी

पर्वत, भदौ २९–राष्ट्रिय मगर संघ पर्वतको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ । अधिवेशनले बलबहादुर पुनको अध्यक्षतामा नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले दुई बर्षको अवधिमा कुनै काम गर्न नसकेको बताए । उनले सरकारको आधा कार्यकालतर्फ जादै गर्दा जनताले झनझन दुःख पाउदै गएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै जोशीले सरकारका गलत काम र खराब आचरणको भण्डाफोर गर्ने समय आएको बताए । ‘बर्तमान ओली नेतृत्वको सरकारको आधा कार्यकाल हुँदै गर्दा जनताले झनझन दुःख पाइरहेका छन्, त्यसैले सरकारले गरेका गलत काम र खराब आचरणको भण्डाफोर गर्ने समय आएको छ’ उनले भने ।

निर्वाचनका बेला कुश्मामा रेल स्टेसन बनाउने चर्काचर्का भाषण गरेका ओलीले दुई तिहाइको सरकार हाँकेको आधा कार्यकाल सकिन लाग्दा कुनै काम नगर्नुले जनतालाई भ्रमित पारेको जनताले बुझिसकेको जोशीले बताए । सरकारले दिएको झुटा आश्वासनबारे जनतालाई स्मरण गराए मात्रै पनि कांग्रेसको जनमत बृद्धी हुने उनले दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति नवराज गुरुङ, राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष ओम थापा, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुन, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका नेता होमबहादुर पुन, कुलबहादुर पुन, बलबहादुर पुनलगायतले बोलेका थिए ।
अधिवेशनबाट बलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा लालवहादुर आले मगर, सचिवमा लालवहादुर पुर्जा, कोषाध्याक्षमा देवी पाईजा चयन भएका छन् । समितिको सदस्यहरुमा टिकाराम श्रीस मगर, सुजन पुन मगर, अमरवहादुर पुन, मेकवहादुर पुन, धनवहादुर थापा र जगवहादुर पुन चयन भएका छन् ।

spot_img

भर्खरै