पर्वत, साउन ३०–गैरआवासिय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरेका बर्तमान उपाध्यक्ष कुल आचार्य बुधबार न्युयोर्कमा भएको अन्र्तक्रियापछि थप उत्साहित भएका छन् । संस्थालाई थप क्रियाशिल र सशक्त बनाउने उद्घोषसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्य गैरआवासिय नेपालीसँगको भेटघाट, अन्र्तक्रिया र सुझाबहरु लिन न्युयोर्कको भ्रमणमा छन् ।
उनले बुधबार न्युयोर्कमा भएको अन्र्तक्रिया अत्यन्त उपलब्धीमुलक बनेको र संगठनलाई कसरी अरु सशक्त बनाउने भन्नेबारे एनआरएनएको बौद्धिक जमातले महत्वपूर्ण सुझाबहरु दिएको बताए । ‘संगठनलाई थप सशक्त बनाउनका लागि गैरआवासिय नेपालीको बौद्धिक जमातले महत्वपूर्ण सुझाब दिनुभएको छ, उहाँहरुको सुझाबलाई ग्रहण गरेर काम गर्छु’ आचार्यले भने–‘यो मेरा लागि अवसर हो, त्यो अवसर जुटाउने न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीलगायत सबै साथीहरुलाई धन्यबाद ।’ आचार्यले आज बिहिबार बेलुका डयालस शहरमा बस्ने गैरआवासिय नेपालीसँग बिस्तृत छलफल गर्दैछन् ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा जन्मिएका कुल आचार्य बेलायतमा बसेर बर्षौदेखि ब्यवसाय गर्दै आएका छन् । बिदेशमा रहेका नेपालीको समस्या समाधानमा सक्रिय रहदै आएका आचार्य २००७ देखि निरन्तर गैरआवासीय नेपाल संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदमा काम गर्दै आएका छन् । संस्थामा लामो समयसम्म काम गरेको अनुभव र उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका कारण पनि आफुले स्वभाविक रुपमा अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी गरेको आचार्यले जानकारी दिएका छन् ।
‘म २००७ देखि एनआरएनमा सक्रिय रुपमा काम गर्दै आएको छु, अहिले उपाध्यक्ष भएका कारण पनि अध्यक्षमा मेरो प्रतिष्पर्धा स्वभाविक रुपमा हुन्छ’ आचार्यले भने । प्रवासमा बस्ने हरेक नेपालीलाई संघमा सहभागी गराउने र उनीहरुका समस्या समाधान हुने गरी काम गर्ने मुख्य उद्देश्यका साथ आफुले अध्यक्षमा दाबी प्रस्तुत गरेको पनि आचार्यले बताएका छन् । ‘उपाध्यक्ष भएका कारण पनि साथीभाई, आफन्त तथा शुभचिन्तकहरुको सुझाब र सल्लाहले मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु’ उनले भने ।
आचार्यले देखाएको सक्रियता, क्रियाशिलता र सामाजिक भावनाबाट प्रभावित भएर अधिकांश मुलुकमा रहेका गैरआवासिय नेपालीले आचार्यलाई केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन दबाब दिदै आएका छन्। एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको र अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकोले उनले सबैसँग सहयोगको आग्रह पनि गरेका छन् ।
आचार्य २००७ मा संघको बेलायत सदस्य भएका थिए । २००९ मा बेलायतको उपाध्यक्ष भएका उनी २०११ मा अध्यक्ष भए । २०१३ मा उनी आइसिसि सदस्यमा निर्वाचित भएका थिए । २०१५ मा युरोप संयोजक भएर उदाहरणीय रुपमा जिम्मेबारी निभाएका आचार्य हाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष छन् । 


