spot_img

श्रेष्ठको मृत्यु संकास्पद भन्दै पर्वत काँग्रेसले ग¥यो निष्पक्ष छानविनको माग

पर्वत, साउन १३–पार्टी जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको निधन संकास्पद भएको भन्दै नेपाली कांग्रेस पर्वतले निष्पक्ष छानविन गर्न माग गरेको छ । काठमाडौस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौ तलाबाट खसेर मृत्यु भएको भनिएका श्रेष्ठको मृत्यु संकास्पद भएको दाबी गर्दै पर्वत काँग्रेसले छानविनको माग गरेको हो । श्रेष्ठको आइतबार दिउसो मृत्यु भएको थियो । जिल्ला सभापति खिमप्रसाद भुसालले विज्ञप्ती जारी गर्दै ठुला माछाको पोल खुल्ने डरले श्रेष्ठको हत्या भएको हुनसक्ने बताएका छन् ।
बालुवाटारको जग्गा प्रकरणसँग जोडिएर छानविनको क्रममा रहेका श्रेष्ठले सबै पोल खोल्ने डरले त्यो घटना भएको हुनसक्ने भएका कारण निष्पक्ष छानविन हुनुपर्ने माग भुसालको रहेको छ । ललितानिबास जग्गा प्रकरणसँग जोडेर बिभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति दुःख ब्यक्त गर्दै काँग्रेसले प्रमाणसहित सत्य कुरा बाहिर ल्याउन माग गरेको हो ।
‘आठ तलाबाट खसिएको भनिएता पनि घटनास्थलमा एक थोपा रगत नदेखिनु, अनुहारलगायत शरिरका अन्य बाहिरी भागमा कुनै चोट पटक नदेखिनु, सिसि क्यामेराको फुटेज उपलब्ध नहुनु आदिले घटना रहस्यमय देखिएको हुँदा मनगणन्ते अनुमानको भरमा निष्कर्षमा पुग्नु राम्रो होइन’ सभापति भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘गम्भिर ढंगले अनुसन्धान तथा छानविन अगाडि बढाई सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित पक्षमा नेपाली काँग्रेस पर्वत आग्रह गर्दछ ।’
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले घटनाको प्रकृति हेर्दा सुनियोजित हुनसक्ने बताए । ‘ललितानिबास जग्गा प्रकरणमा मुछिएका ठुला माछा समातिने डरले नियोजित रुपमा यो घटना गराइएको हुनसक्छ, सचिव श्रेष्ठ आत्महत्या गर्ने र गर्नुपर्ने ब्यक्ति नै होइन’ उनले भने ।
तत्कालिन समय डिल्लिबजार मालपोत कार्यालयमा नायव सुब्बा पदमा कार्यरत श्रेष्ठसहित तत्कालिन अवस्थामा उक्त कार्यालयका कर्मचारी र तत्कालिन मन्त्रिपरिषदको निर्णय गर्ने राजनीतिक नेतृत्व अख्तियारको निगरानीमा थिए । उनीनिकट स्रोतका अनुसार शुक्रबार अख्तियारमा बयान दिएर फर्किएका थिए । केहि समयदेखि अख्तियारले निरन्तर तारेखमा राखेर बयान लिइरहेका श्रेष्ठबाट गम्भिर कुरा बाहिर आउने भयले यस्तो घटना गराइएको पर्वत काँग्रेसका अधिकांश नेताहरु दाबी गर्छन ।
श्रेष्ठ २०५८ सालमा सेवा निवृत्त भएपछि सामाजिक काममा सक्रिय भएका थिए । उनी लायन्स क्लबको ३२५ बि वान का बर्ष २०१३÷०१४ मा डिस्ट्रिक्ट गर्भनर भएका थिए । काँग्रेसको १३ औ महाधिवेशनमा पर्वतमा जिल्ला कार्यसमितिमा बिजयी भएका उनलाई जिल्ला सचिवमा मनोनित गरिएको थियो ।
श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठको पार्थिव शरिरमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, अर्जुनप्रसाद जोशी, बालकृष्ण खाँड, रामकृष्ण यादवलगायतले पार्टीको झण्डा ओढाएका थिए ।
अन्त्येष्टिमा पर्वतका सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति एवम् प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङ, पूर्वसभापति नवराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, जिल्ला सचिव विश्वप्रकाश प्रसाई, कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, मुना भुसाल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेलगायतका नेताहरू पुगेका थिए । श्रेष्ठको निधनले पर्वत काँग्रेस शोकमा छ ।

spot_img

भर्खरै