spot_img

शिक्षक अन्तवार्ताको लागि विशेष तयारी कक्षा शुरु

पर्वत, असार २७–लिखित परीक्षामा उत्तिर्ण भएकाहरुका लागि यहाँ अन्र्तवार्ता कक्षा सुरु भएको छ । अन्तवार्ताको तयारीमा रहेकाहरुका लागि सदरमुकाम कुश्मामा दुई दिने अन्तरवार्ता तयारी विशेष कक्षा शुरु भएको हो । अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले तयारी कक्षा शुरु गरेको हो । गत बर्ष पनि अन्तरवार्ता तयारी विशेष कक्षा संचालन गर्दा धेरै परीक्षार्थी उत्तिर्ण भएको प्रतिक्रिया पाएपछि यस बर्ष पनि परीक्षार्थीहरुकै मागको आधारमा विशेष तयारी कक्षा संचालन गरिएको तयारी कक्षाका संयोजक तथा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । तयारी कक्षामा पर्वत जिल्ला सहित बागलुङ र म्याग्दीका गरी झण्डै एक सय जना सहभागी भएका छन ।
तयारी कक्षामा अन्तरवार्तामा सोधिने सम्भावित प्रश्नहरु, बिषयगत जानकारी, पाठयक्रम, मूल्यांकन, शिक्षाको वर्तमान अवस्था, शिक्षा ऐन तथा नियमावली र त्यसको संशोधन, नेपालले अन्र्तराष्ट्रिय रुपमा हस्ताक्षर गरेका सन्धि, अभिसन्धी र महासन्धि लगायतका बिषयबस्तुमाथि छलफल भएको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै परीक्षार्थीहरुमा आत्मविश्वास विकास गर्ने उद्धेश्यले प्रयोगात्मक रुपमा बिषय बिज्ञहरु तथा सहजकर्ताबाट नमूनाका रुपमा अन्तवार्ता लिएर पनि अभ्यास गरिएको छ । तयारी कक्षाको शुभारम्भ कार्यक्रममा बोल्दै संयोजक तथा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले तयारी कक्षामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै अन्तवार्ताको तयारीमा लाग्न परीक्षार्थीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले अन्तवार्तामा सहभागी हुने बेलामा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराएका थिए । उक्त समयमा पेश गर्नुपर्ने कागजातहरुको बारेमा ध्यान दिन पनि उनले आग्रह गरे । शुभारम्भ कार्यक्रममा बिषय विज्ञ तथा सहजकर्ताहरु गोविन्द पोखरेल, बालकृष्ण बाँस्तोला, लक्ष्मण गौतम, भूमिराज शर्मालगायतले बोलेका थिए । शुभारम्भ कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले र तयारी कक्षाको संयोजन नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गरेका थिए ।

spot_img

भर्खरै