spot_img

सोमलालजीको निष्ठा, त्याग र इमान्दारितालाई स्वर्ण अक्षरले लेखिने छ : काँग्रेस नेता जोशी


पर्वत, जेठ ७– पूर्वसचिव सोमलाल आचार्यको निधन भएको १३ औ दिनमा नेपाली काँग्रेस पर्वतले श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताए । जोशीले पार्टीको कठिन अवस्थामा आचार्यको घर पार्टीको आश्रयस्थलका रुपमा प्रयोग भएको स्मरण गर्दै आफू सभापति र सोमलाल सचिव हुँदाको सांगठनिक जीवन चुस्त र बढि क्रियाशील रहेको स्मरण गरे । ‘एउटा कठिन घडीमा पार्टी सचिवका रुपमा सोमलालजीले पु¥याएको योगदान स्वर्ण अक्षरले लेखिने छ’ उनले भने । उनले सोमलाल आचार्य पद र पैसाको कहिल्यै लालायित नभएको वताउँदै उनले सिकाएको सांगठनिक निष्ठाको पार्टीको केन्द्रीय समितिमा समेत आफूले जानकारी गराउने प्रतिवद्धता जनाए ।
एकअर्को प्रसंगमा काँग्रेसका प्रभावशाली नेता जोशीले पार्टीले देशैभरि शुरु गरेको जनजागरण अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए । नेता जोशीले जनताका बीचमा पार्टीको छविलाई बलियो बनाउने होभने सबैका बीचमा इमान्दार एकताको आवश्यकता रहेको दाबी गरे । ‘आफूलाई मात्रै केन्द्रमा राखेर भावनात्मक एकताको कुरा गर्नु व्यर्थ हुन्छ, जनता र कार्यकर्तालाई केन्द्रमा राखेर कुरा गरौं संगठनमा कुनै समस्या आउँदैन’ उनले भने ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका पूर्व पार्टी सभापति लालकाजी गुरुङले पार्टीको संस्थागत विकास र एकताको लागि गाउँदेखि शहरसम्म सबैले मिलेर अघि बढ्नुपर्ने वताए । सांसद गुरुङले पनि सोमलाल आचार्यको सांगठनिक निष्ठाको प्रशंसा गर्दै आचार्यले पु¥याउनु भएको योगदानलाई सबै काँग्रेसजनले अनुशरण गर्नुपर्ने धारणा राखे ।
पार्टीका पूर्वसभापति नवराज गुरुङले सोमलाल आचार्यको निधनले पार्टी र समाजलाई नै क्षति पुगेको वताउँदै आचार्यजस्ता निष्ठावान नेता समाजमा कमैमात्र जन्मने दावी गरे । शोकसभामा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा महिला नेतृ सरस्वती गुरुङले काँग्रेसको सुदृढिकरण र एकता देशैभरि जरुरी भएको वताउँदै पार्टीले हालै शुरु गरेको पहिलो चरणको जागरण अभियानसँगै पार्टीमा नयाँपन आउने दावी गरिन । नेतृ गुरुङले सोमलाल आचार्यको पार्टीप्रतिको योगदानलाई अरु नेता तथा कार्यकर्ताहरुले पनि सिक्न आवश्यक रहेको भन्दै आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन ।
नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुषालको सभापतित्वमा भएको उक्त शोकसभामा प्रदेशसभा सदस्य ललितकला गुरुङ, पार्टी उपसभापति दुर्गाबहादुर खत्री, पार्टीका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), महासमिति सदस्य एवं पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने, पैयुँ गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डा. चूडामणि शर्मा, नेपाली काँग्रेसका बरिष्ठ सल्लाहकार तथा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष लोकनाथ आचार्य र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले स्वर्गिय सोमलाल आचार्यको योगदानको बारेमा बोलेका थिए ।
सभामा परिवारका तर्फबाट आचार्यका भाई कमलनाथ शर्माले धन्यबाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव विश्वप्रकाश प्रसाईंले गरेका थिए ।

spot_img

भर्खरै