spot_img

ज्योतिष गाउँमा संस्कृत बिद्यापीठ, उपमेयर लामिछानेबाट उद्घाटन


पर्वत, बैशाख १८–कुश्मा नगरपालिका वडा नम्बर १ पाङ र वडा नम्बर २ खुर्कोट ज्योतिष गाउँका रुपमा परिचित छ । टोल–टोलमा ज्योतिष र पुरोहित भएकै कारण पाङ, खुर्कोटको चर्चा बढी नै हुने गरेको छ । यहाँका ज्योतिषीले गरेको भविष्यबाणी मिलेको भन्दै दशा, ग्रह हेराउनका लागि टाढा–टाढाबाट आउने गरेका छन् । पछिल्लो समय ज्योतिषप्रति युवा आकर्षित नहुनु र ज्योतिष पेशा पुस्तान्तरण नहुँदा भने यहाँका स्थानीय चिन्तित रहदै आएका छन् ।
पछिल्लो पुस्ता संस्कृत भाषा र ज्यातिष बिद्याप्रति ध्यान नदिँदा लोप हुने चिन्ताले यहाँका बासिन्दाले संस्कृत पाठशाला सञ्चालन गर्ने अभियान चलाएका छन् । दुबै वडाका बासिन्दा मिलेर वडा नम्बर १ खुर्कोटको राधाकृष्ण मन्दिरसँगै शारदा संस्कृत बिद्यापीठ स्थापना गरेका छन् । उनीहरुले यो संस्कृत बिद्यापीठमा संस्कृत भाषासँगै ज्योतिष बिद्यासमेत अध्ययन गराउने उदेश्य रहेको जानकारी दिएका छन् ।

संस्कृत बिद्यापीठको कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले उद्घाटन गरिन । पाठशालाको बोर्ड टांग्दै उपप्रमुख लामिछानेले संस्कृत भाषा बिद्यालय तहमा नरहदा ब्यक्तिको आचरण, नैतिकता र ब्यवहारमा फरकपन आएको बताइन । मानिसको आचरण, नैतिकता, सदभार्ग र ब्यावहारिक ज्ञानका लागि संस्कृत पठनपाठन महत्वपूर्ण भएको उनले धारणा राखिन ।  ‘मानिसमा अहिले आचरण, नैतिकता हराउदै गएको छ, त्यसको मुल कारण संस्कृत भाषाको पठनपाठन नगराउनु हो’ उनले भनिन् । उनले कुश्मा नगरपालिकामा शारदा संस्कृत पाठशालासँगै दुई वटा संस्कृत पाठशाला भएको र यसको ब्यवस्थापन, भौतिक तथा आर्थिक रुपमा नगरपालिकाले सहयोग गर्ने जानकारी दिइन ।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले संस्कृत भाषा अन्य भाषाभन्दा उत्कृष्ट भएको भन्दै पछिल्लो समय नासाले समेत संस्कृतका पाठयपुस्तकमा चासो दिएकाले नेपाल सरकारले नै सबै बिद्यालयमा संस्कृत भाषाको समेत पठनपाठन सुरु गर्नुपर्ने बताए । उनले संस्कृत बिद्यापीठ मात्रै नभएर नगरपालिकाले सबै धर्मसम्बन्धित पाठशालालाई सहयोग र संरक्षण गर्ने पनि जानकारी दिए ।
कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बाँस्तोला र वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र सुवेदीले ज्योतिष गाउँमा संस्कृत बिद्यापीठ खोल्ने बर्षौदेखिको सपना पुरा भएको बताए । उनीहरुले संस्कृत बिद्यापीठको नियमित सञ्चालन र विकासका लागि आफुहरुको ध्यान गएको पनि धारणा राखेका थिए ।

शारदा संस्कृत बिद्यापीठका अध्यक्ष द्रोर्णराज उपाध्यायले मान्छेलाई आचरण सिकाउने काममा संस्कृत ज्ञानले महत्वपूर्ण भुमिका खेल्ने बताए । माओबादी जनयुद्धकालको समयमा आफु हिमालय माविको प्रधानाध्यापक भएको समयमा एक हुलजत्था आएर कक्षा ६, ७ र ८ को संस्कृत बिषयको जाँच लिइरहेको बेला प्रश्नपत्र र उत्तरपुस्तिका च्यातिएको र त्यसपछि सामुदायिक बिद्यालयले संस्कृत बिषय हटाएको बताए । उनले संस्कृत बिषय हटाउनु दुर्भाग्य भएको भन्दै आफु प्रधानाध्यापकबाट निबृत्त भएपछि संस्कृत बिद्यापीठ स्थापना अभियानमा लागेको जानकारी दिए ।
ज्योतिष गाउँमा संस्कृत पाठशाला सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय एवम् पर्वतका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले आफु अव नियमित रुपमा संस्कृत पढ्न जाने बताए । उनीजस्तै पाङ र खुर्कोटका पाका उमेरका स्थानीयले समेत संस्कृत पढ्न जाने बताएका छन् । हिमालय माविका ब्यवस्थापन समितिका अध्यक्ष छत्रराज रेग्मी, खरिबोट देव शर्मा गोबिन्दनाथ माविका अध्यक्ष हरिकृष्ण शास्त्री, संस्कृत भाषा बिज्ञ नारायणप्रसाद पौडेल, लायन्स क्लब अफ गुप्तेश्वरका अध्यक्ष मुना शर्मा लामिछाने लगायतले बोलेका थिए ।
शारदा संस्कृत बिद्यापीठका सल्लाहकार बालकृष्ण बाँस्तोलाले संस्कृत भाषाप्रति बैज्ञानिकहरु समेत नजिक रहेको भन्दै नेपाली भाषबाट संस्कृत हटाएमा नेपाली भाषा नै समाप्त हुने भएका कारण पनि हरेक बिद्यालय तहमा संस्कृत बिषयको पठनपाठन अनिवार्य देखिएको बताए । कुश्मा नगरपालिकाले तत्कालका लागि निजि स्रोतबाट शिक्षकको ब्यवस्थापन गर्नेगरी गत चैत महिनामा शारदा संस्कृत बिद्यापीठलाई सञ्चालन अनुमति दिएको थियो ।

spot_img

भर्खरै