पर्वत, बैशाख ६–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईले यहाँका ६४ जना बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण गरेको छ । नेबिसंघको ५०औ स्थापना दिवसको अबसरमा कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटमा रहेको सुर्योदय प्राथमिक बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्रीसहितको झोला बितरण गरेको हो । बिद्यालयमा ६४ जना बालबालिका भएपनि ५४ जना बालबालिकालाई बितरण गरिएको र बाँकीलाई अर्को दिन बितरण गरिने बिद्यालयका प्रधानाध्यापक कल्याण सुवेदीले जानकारी दिए ।
यो बिद्यालयमा सुस्तमनस्थितिका बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरुलाई आवासिय सुविधासमेत रहेको छ । कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर २ का अध्यक्ष यदुनाथ बास्तोला, वडा नम्बर ८ का अध्यक्ष राजकुमार क्षेत्री, नेबिसंघ पर्वतका अध्यक्ष मिलन सुबेदी, समाजसेवी श्यामकुमार जोशीलगायतले सामाग्री बिद्यार्थीलाई बितरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाँस्तोला र क्षेत्रीले बिपन्न बालबालिकालाई सानो सहयोगले पनि ठुलो राहत मिल्ने बताए । उनीहरुले नेबिसंघले गरेको यो रचनात्मक सहयोगले अन्यत्र पनि पाठ सिकाएको धारणा राखेका थिए ।
नेबिसंघ पर्वतका अध्यक्ष मिलन सुबेदी, गुप्तेश्वर बहुमुखी क्याम्पस इकाइका अध्यक्ष शिशिर शर्मा, फलेबास नगरपालिका अध्यक्ष सन्तोष पाठक, कुश्माका अध्यक्ष प्रदिप पोखरेललगायतले बोलेका थिए । झोला श्यामकुमार जोशी र शैक्षिक सामाग्री वडा अध्यक्ष बाँस्तोला र क्षेत्रीले सहयोग गरेका थिए ।






