
पर्वत, चैत २–यहाँ बिशेषज्ञ स्वास्थ्य शिविर सुरु गरिएको छ । फलेबास नगरपालिकाले वडा नम्बर ५ स्थित खानीगाउँमा दुई दिने बृहत विशेषज्ञ स्वास्थ्य शिविर चलाएको हो । आर्थिक अभावका कारण रोग लागेर पनि औषधोपचार गर्न नपाएका बिपन्नलाई ध्यानमा राखेर फलेबार नगरपालिकाले चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।
शिविर उद्घाटन गर्दै फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आर्थिक अभावले रोग लागेर पनि स्वास्थ्य परिक्षणसम्म गर्न नपाएका नगरबासीलाई लक्षित गरेर दुई दिने विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए । उनले शिविरलाई अधिकतम उपयोग गरेर नगरमै उपचारको अवसर सदुपयोग गर्न पनि आग्रह गरे ।
‘विशेषगरी ग्रामिण भेगका बासिन्दा आफुलाई रोग लागेको थाहा पाएपनि आफ्नो स्वास्थ्य परिक्षणसम्म गराउन पाएका छैनन्, त्यसैले हामीले बिपन्नलाई लक्षित गरेर शिविर आयोजना गरेका हौ’ नगर प्रमुख शर्माले भने । उनले प्राविधिक रुपमा सहयोग गरेकोमा चितवन मेडिकल कलेज र चिकित्सक टोलीलाई धन्यबाद दिए ।
कार्यक्रममा चितवन मेडिकल कलेजका बरिष्ठ मुटुरोग विशेषज्ञ श्याम रेग्मीले यो प्रकारको विशेषज्ञसहितको स्वास्थ्य शिविर जहाकही नहुने बताए । उनले भिडियो एक्सरेदेखि इसिजिसम्मका सेवा दिने भन्दै अधिकतम लाभ लिन फलेबास नगरबासीलाई आग्रह गरे । चितवन मेडिकल कलेजका प्रा।डा।दयाराम लम्सालले शिविरमा मुटु, स्त्रीसम्बन्धी, दात, बालरोग, हाडजोर्नी, नाक कान घाटीलगायतका सेवा पाइने बताए ।
शिविरमा फलेबास नगरपालिकाका ११ वटै वडादेखि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बिहादी गाउँपालिका, महाशिला गाउँपालिका, कुश्मा नगरपालिकालगायत स्थानका बासिन्दासमेत स्वास्थ्य परिक्षणका लागि आएका छन् । शिविर शनिबार साझसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य परिक्षणका आएका बिरामी मध्ये अधिकांश महिला रहेका छन् ।
विशेषगरी महिलाहरु उपचारका लागि अन्यत्र नजादा उनीहरु सामान्य स्वास्थ्य परिक्षणबाट समेत बञ्चित भएकोले यो शिविरबाट धेरै राहत पाउने फलेबास नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिए । ‘चुलो र चौकोमै रहेका धेरै महिलाहरु अस्वस्थ भएर पनि सामान्य स्वास्थ्य परिक्षण गराउन पनि पाएका थिएनन’ उनले भने–‘शिविरले ठुलो राहत दिएको छ ।’ शिविर शुभारम्भका अवसरमा देवीप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए ।




