spot_img

‘जलजलामा सबैलाई समान ब्यवहार गरेका छौ, तर हामीलाई दुःख दिइएको छ’

पर्वत, फागुन १७–जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजलामा नेपाली काँग्रेसको बहुमत भएपनि कसैलाई काखापाखा नगरेको बताएका छन् । उनले सबै गाउँपालिकाबासीलाई समान ब्यवहार गरेको पनि बताए । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको प्रथम प्रतिनिधिसभालाई शुक्रबार सम्बोधन गर्दै उनले जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रह पाल्न नहुने बताए । उनले जलजलामा सबैलाई समान ब्यवहार गरिएपनि संघीय सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समिति पर्वतबाट जलजला गाउँपालिका अन्यायमा परेको दाबी गरे । ‘जलजला गाउँपालिकामा नेपाली काँग्रेसको बहुमत छ, तर बहुमतको दम्भ हामीमा छैन, सबैलाई समान ब्यवहार गरेका छौ’ अध्यक्ष मल्लले भने–‘संघ, प्रदेश सरकार र जिल्ला समन्वय समिति पर्वतले पूर्वाग्रह पालेर हामीलाई दुःख दिइएको छ ।’

आफुले जिल्ला समन्वय समिति पर्वत, प्रदेश सरकार, संघीय सरकारबाट आग्रह, पूर्वाग्रहबिना सहयोग र समन्वय पाइने अपेक्षा राखेपनि अहिले दुःख दिने नियत मात्रै भएको धारणा राखे । ऐन, नियम, कानुन, बिधि, प्रक्रियाले काम गर्नुपर्नेमा कसैलाई दुःख दिने नियतले जलजला गाउँपालिकालाई संघीय संविधानले दिएको अधिकारबिपरित ब्यवहार गरिएको अध्यक्ष मल्लको टिप्पणी रहेको छ । मल्लले स्थानीय सरकारमाथि तानाशाही प्रबृत्तिले संघीयता धरापमा परेको दाबी पनि गरे । ‘बिना हस्तक्षेप स्थानीय सरकारले काम गर्न पाउनुपर्छ, अहिले स्थानीय तहमाथि गरिएको तानाशाही प्रबृत्तिले संघीयता नै धरापमा परेको महसुस हुन थालेको छ’ उनले भने । उनले सबै शिक्षकलाई शैक्षिक गुणस्तर बढाउन र सामुदायिक बिद्यालयप्रतिको भरोसा बढाउन आग्रह समेत गरे । अध्यक्ष मल्लले शिक्षकहरुले बिद्यालय समयभित्र राजनीति गर्न नहुनेमा जोड दिदै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर नै अहिले चुनौतिको बिषय बनिरहेकोमा बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले अहिलेको सरकारले संविधानले स्थानीय तहलाई दिएको अधिकार खोस्ने प्रयत्न गरेको बताए । उनले राजनीतिक पूर्वाग्रहका कारण स्थानीय तहमा हस्तक्षेप गर्ने काम बन्द गर्न संघ, प्रदेश र जिल्ला समन्वय समितिलाई आग्रह पनि गरे । उनले शिक्षक, कर्मचारीलाई बर्तमान सरकारले हतोत्साही बनाउने काम गरेको भन्दै असन्तुष्टि जनाए ।
कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा शिक्षकहरुले बर्तमान सरकारले स्रोतब्यक्ति हटाउने निर्णय गरेकोप्रति आपत्ति जनाएका थिए । उनले शैक्षिक सत्रको बिचमा आएर गलत निर्णय गरेको भन्दै तत्काल सच्याउन पनि माग गरेका थिए । कार्यक्रममा जलजला गाउँपालिका शिक्षम विभाग संयोजक गोबिन्द खत्री, नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेपाल शिक्षक संघ पर्वतका पूर्वअध्यक्ष मुरारी शर्मा, जलजलाका अध्यक्ष भवानीशंकर पौडेल, उपाध्यक्ष ओबहादुर जिसी, जलजलाका स्रोत ब्यक्ति सुमन्तनाथ शर्मालगायतले बोलेका थिए ।

spot_img

भर्खरै