
पर्वत, फागुन १३–जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक कुमार श्रेष्ठ बेपत्ता छन् ।
गाउँपालिकाले यही फागुन ६ गतेको कार्यपालिकाको निर्णय नम्बर १५ बमोजिम वडा नम्बर २ र ३ स्थित बगरफाट, वारीबेनीबाट ज्यामिरे खनियाघाटछसम्म आवश्यक पर्ने स्थानमा संरक्षण र चेकड्याम बनाउनका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरी बुद्ध निर्माण सेवालाई आईइइ मा उल्लेख गरेबमोजिम संरक्षण र चेकड्याम निर्माण गर्न दिएको थियो । सोहीअनुसार काम गर्नेक्रममा गत बिहिबार जलजला गाउँपालिका वडा नम्बर ८ का महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेका थिए । घटनाका बेला प्रहरीसमेत थिए ।
घटनामा एक्साभेटर तोडफोड हुनुका साथै अपरेटर कुमार श्रेष्ठ अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । गाउँ कार्यपालिकाको बैठकले उक्त घटनाको घोर भत्र्सना गरेको छ । ‘स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित अधिकार बमोजिम गाउँपालिकाले कार्य गर्दा अवरोध सिर्जना भएकोमा आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्न सम्बन्धित निकाय सबैमा माग गर्ने निर्णय गरियो’ सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयमा उल्लेख छ ।
यसअघि महेन्द्र रेग्मीसहितका ब्यक्तिको आक्रमणपछि बुद्ध निर्माण सेवाका प्रतिनिधि लालबहादुर मल्लले कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर उक्त जाहेरी प्रहरीले राजनीतिक आधारमा दर्ता गरेको छैन । प्रहरीले दर्ता नगरेपछि उक्त जाहेरीलाई मल्लले जिल्ला हुलाक कार्यालयमार्फत प्रहरीमा पठाएका छन् ।
पर्वतको जलजला गाउँपालिकाको बगरफाँटदेखि दमुवाखोला र कुश्मा नगरपालिकाको राजाको बगरदेखि मालढुंगा हुँदै नयाँ पुल कालीगण्डकी नदीबाट बढी जोखिमका क्षेत्र हुन । बर्षाको समयमा नदीले यहाँका ती ठाउँहरुमा बढी असर पु¥याइरहेको हुन्छ । जोखिमयुक्तक्षेत्रका बस्ती र नदीबाट हुने क्षतिलाई कम गर्न जलजला गाउँपालिकाले चेकड्याम र बस्ती संरक्षण अभियान चलाएपनि प्रहरी र केही ब्यक्ति मिलेर अबरोध पु¥याइरहेको गाउँपालिकाले जनाएको छ ।
विगतदेखि ठेकेदारसँग पैसा असुल्न बानी परेका केही ब्यक्तिको उक्साहटमा प्रहरीले समेत जलजला गाउँपालिकाको काममा अबरोध पु¥याउने, गाउँपालिकाले निर्माणको जिम्मा दिएका निर्माण कम्पनीलाई आतंिकत पार्ने गरेको गुनासा आएका छन् । ‘प्रहरीकै अगाडी ढुंगा हानियो, ढुंगा हान्नेलाई प्रहरीले संरक्षण दियो तर त्यही ठाउँबाट एक्साभेटरका अपरेटर बेपत्ता भएका छन्’ बुद्ध निर्माण सेवाले जनाएको छ ।
गाउँपालिकाले पालिकाभित्र पर्ने नदीक्षेत्रको बस्ती संरक्षणसहित त्यहाँ भएको नदीजन्य पदार्थ निकासी कर संकलन गर्न समेत जिम्मा दिएको थियो । तर प्रहरीको असहयोग र अबरोधका कारण उनीहरुले काम गर्नै नपाएको जलजला गाउँपालिकाले जनाएको छ । सुरुमा गाउँपालिकाले ९० लाखबढीमा लगाउन लागेको ठेक्का प्रहरीको अबरोधका कारण ५२ लाखमा झरेको छ ।
प्रहरीकै असहयोगले गाउँपालिकालाई ४० लाख बढी राजश्व गुमेको जलजला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनकै आधारमा ठेक्का दिएपनि प्रहरीले हस्तक्षेप गर्दा अहिले लगाएको ठेक्का पनि गुम्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।
महेन्द्र रेग्मीले कानुनी कारबाहीबाट बच्नका लागि नदी दोहनको कुरा उठाउन थालेका छन् । जुन बेला दोहन भएको भए त्यहाँ टिपरसहितका अन्य सवारी पनि हुनुपर्ने थियो तर त्यहाँ ड्याम बनाउन सहयोगका लागि मात्रै एक्साभेटर लगेको बुद्ध निर्माण सेवाले जनाएको छ ।
यसरी भएको थियो आक्रमण
जलजला गाउँपालिकाले नदी किनारका बस्ती संरक्षणका लागि जिम्मा दिनेगरी फागुन ६ गते निर्णय गरेको थियो । सोहीअनुसार बुद्ध निर्माण सेवालाई पाँच लाख रुपैयाँमा आवश्यक ठाउँमा चेकड्याम र संरक्षण गर्नेगरी जिम्मा दिएको थियो । गत बिहिबार जलजला गाउँपालिका वडा नम्बर ८ स्थित दम्भखोलाको साइडमा कालीगण्डकी किनारमा बस्ती संरक्षण तटबन्दको काम गरिरहेको अवस्थामा जलजला ८ खनियाघाटका महेन्द्र रेग्मीले साँझ ५ बजेर ४५ बजेको समयमा एक्साभेटरमा ढुंगामुडा गरेका हुन ।
रेग्मीसँग ८÷१० जनाको समुहमा नजिनेका ब्यक्तिहरुसमेत आएका थिए । उनीहरुले दुई साताअघि मात्रै खरिद गरेको नम्बर राख्न बाँकी रहेको अन टेष्ट जेसीभि एक्साभेटरमा एक्कासी आक्रमण गरेका थिए । उनीहरुले एक्साभेटरमा तोडफोडसमेत गरेका छन् । आक्रमण भएपछि नदीमा चालक कुमार श्रेष्ठ हाम फालेका थिए । उनी अहिले सम्पर्कमा आएका छैनन् । घटनाको स्थानीयले देखेर आएपछि त्यहाँबाट आगो लगाउने धम्कीसमेत दिएर रेग्मीसहितका ब्यक्ति भागेका थिए । त्यहीबेला प्रहरीसमेत त्यही रहेका थिए ।
घटना भएको ठाउँ नजिकै केही महिनाअघि मात्रै मध्यरातमा अर्को एक्साभेटरमा आगो लगाइदिएका थिए । आगो लगाएकै दिन गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा बम समेत राखेका थिए । विगतमा एक्साभेटर जलाउनु, घरमा बम राख्नु र अहिले पनि एक्साभेटर जलाउने धम्कीसहित आक्रमण हुनुले विगतको घटनाका दोषी पनि तीनै ब्यक्ति हुनसक्ने आशंका गरिएको छ । उक्त घटनामा प्रहरीको बेवास्ताले दोषी अझै पक्राउ पर्न सकेका छैनन् ।
उजुरी दर्ता किन गरेन पर्वत प्रहरीले ?
गाउँपालिकाले लगाएको बस्ती संरक्षणको काम गरिरहदा एकाएक आक्रमण भएर ब्यक्ति बेपत्ता हुँदा पनि पर्वत प्रहरीले निबेदन दर्ता गर्न अस्वीकार गरेको छ । गत बिहिबारदेखि एक्साभेटरका चालक कुमार श्रेष्ठ बेपत्ता भएपनि पर्वत प्रहरीले खोजबिन गरेको छैन । श्रेष्ठको खोजी र आक्रमण गर्ने महेन्द्र श्रेष्ठसहितका ब्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै लालबहादुर मल्लले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । उक्त जाहेरी दर्ता गर्न पर्वत प्रहरीले अस्वीकार गरेको छ । शान्ति सुरक्षाका लागि जिम्मेबार हुनुको सट्टा नागरिकले दिएको उजुरी नलिनुले पर्वत प्रहरीको गतिविधि नै संकास्पद देखिएको छ । प्रहरीले उजुरी नलिएपछि लालबहादुर मल्लले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा निवेदन पठाएका छन् ।


