पर्वत, माघ २३–अहिले जनप्रतिनिधिबाटै जनता निराश र आक्रोशित छन् । विगतमा तिरेको करभन्दा ग्रामिण भेगसम्मका जनताले सयौ प्रतिशतबढी कर तिर्न बाध्य छन् । संघीयताले जनतालाई बढी राहत र सेवा देला भन्ने सोच बनाएका जनताहरु स्थानीय तहले करको भारी थोपर्दा चिन्तित छन् ।
यस्तो अवस्थामा नेपाली काँग्रेसका एक प्रभावशाली नेताले सेवा शुल्कको नाममा लिने कर तत्काल हटाउन काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । स्थानीय तहमा सेवा शुल्कको नाममा जनता मारमा परेको भन्दै त्यो शुल्क नलिन नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बिरबहादुर बलायरले निर्देशन दिएका हुन् । पर्वत, बागलुङ र म्याग्दी आएर फर्केका बलायरले तीनै जिल्लामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई कुनैपनि सिफारिसमा शुल्क नलिन निर्देशन दिएका हुन ।
काँग्रेस नेता बलायर गत सोमबार पर्वत काँग्रेसले आयोजना गरेको बिरोध प्रदर्शनमा आएका थिए । उनी बागलुङ र म्याग्दी समेत पुगेर काँग्रेस कार्यकर्तासँग भेटघाट तथा पार्टीको अवस्था बुझे । सोही अवसरमा उनले आफु जहाँ जादा पनि स्थानीय तहमा करका कारण जनता मारमा परेको पाएको भन्दै स्थानीय तहमा जनतासँग सेवा शुल्कको नाममा कर नउठाउन निर्देशन दिएका हुन ।
तीनै जिल्लामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सेवा शुल्कको नाममा कर लिएको भए हटाउन निर्देशन दिए । ‘सेवा शुल्कको नाममा लिएको कर तत्काल हटाउनुस्, यो पार्टीको निर्देशन हो’ उनले भने । उनले काँग्रेस र कम्युनिष्टले जितेको ठाउँमा फरक हुनुपर्ने पनि बताए । ‘काँग्रेसले जितेका ठाउँमा पनि सेवा शुल्कको नाममा अनावश्यक कर लिने भए काँग्रेस र कम्युनिष्टबिचमा के फरक भयो त’ उनले भने ।