spot_img

जन्मगाउँमा नारायण अधिकारी परिवारबाट लाखौँ लगानीमा कम्प्युटर ल्याब स्थापना

राष्ट्रियसभा अध्यक्षसँग सम्मान लिदै नारायण अधिकारी ।

पर्वत, मंसिर ११–मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन । हाम्रो समाजमा सधै मुखारबिन्दमा झुण्डिने यो भनाई यहाँ भने चरितार्थ भएन । गाउँबाट बसाई सरेर गएको दुई दशकपछि पनि आफु जन्मेको गाउँ र माटोलाई सम्झेर एक अधिकारी परिवारले बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै लाखौ रुपैयाँ खर्च गरेका छन् ।
महाशिला गाउँपालिका वडा नम्बर ५ मा जन्म भई हाल नवलपुरको गैडाकोट बस्ने नारायण अधिकारीको परिवारले झण्डै २० लाख खर्चेर महाशिलाका दुई वटा बिद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेका हुन । नारायणको परिवार दुई दशकअघि बसाई सरेको हो । महाशिला गाउँपालिका वडा नम्बर ५ मा रहेको महेन्द्रज्योति माविमा बिद्यालय तहको पढाई पुरा गरेका नारायण पढ्ने समयमा बिद्यालयमा न कम्प्युटर थियो, न अन्य प्रविधि नै । उनी कम्प्युटर सिक्नकै लागि त्यो बेलामा पोखरा पुग्न बाध्य भए ।

राष्ट्रियसभा अध्यक्षसँग सम्माननित भएपछि लक्ष्मण अधिकारी । लक्ष्मणको शनिबार बिहान निधन भएको छ ।

उनीमात्रै होइन, त्यहाँका अधिकाशं युवायुवती कम्प्युटर सिक्नका लागि कुश्मा, पोखरा पुग्नैपर्ने बाध्यता थियो । त्यो अवस्था अहिले पनि छ । आफु जन्मेको गाउँ र त्यहाँको बिद्यालयका आम बालबालिकाको भविष्यप्रति चिन्ता लिदै र अहिलेको प्रविधिको युगमा पनि गाउँमै कम्प्युटर सिक्न नपाइरहेको अवस्थामा नारायण अधिकारीको परिवारले लाखौ रुपैयाँ खर्च गरेर महेन्द्रज्योति माविमा कम्प्युटर ल्याब स्थापना गरिदिएका हुन ।

कम्प्युटर ल्याब हस्तान्तरण पछि आफ्नो मन्तब्य राख्दै दाता नारायण अधिकारी ।

पैसा धेरै भएर भन्दा पनि मन भएर सहयोग गरेको नारायणले बताए । ‘हामीसँग पैसा धेरै भएर हुँदै होइन, आफु जन्मेको माटो र त्यहाँका आम बिद्यार्थी र युवायुवतीको उज्ज्वल भविष्य सम्झेर सहयोग गरेका हौ’ उनले भने । उनको परिवारले महेन्द्रज्योति माविमा एक कम्प्युटर कक्ष नै निर्माण गरिदिएको छ । साथै उक्त बिद्यालयमा फर्निचरसहित २० वटा कम्प्युटरसमेत दिएका हुन ।
महाशिला वडा नम्बर ५ कै बुद्ध प्राथमिक बिद्यालयमा समेत अधिकारी परिवारले छ वटा कम्प्युटर र फर्निचर सहयोग गरेको छ । द्ुबै बिद्यालयमा गरी २० लाख खर्चेको नारायण अधिकारीले जानकारी दिए । गत शुक्रबार महेन्द्रज्योति माविमा आयोजित भब्य कार्यक्रममा कम्प्युटर कक्ष र कम्प्युटर बिद्यालयलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत हस्तान्तरण गरिएको हो ।

कम्प्युटर ल्याब हस्तान्तरण पछि कम्प्युटर सिक्न सुरु गरेका बिद्यार्थीसँग नारायण अधिकारी ।

नारायण अधिकारीसहित उनका बुवा लक्ष्मण अधिकारी, आमा लक्ष्मी अधिकारी, पत्नी बिन्दु अधिकारी, दाजु गणेश अधिकारी, बिष्णु अधिकारी, भाउजु बिमला अधिकारी, प्रतिमा अधिकारी, भाई प्रकाश अधिकारी, बुहारी स्वेता अधिकारी, लक्ष्मण अधिकारीका पनाती सागर, कृष्ण, मनिष, पनातिनि शुविज्ञा, प्रतिज्ञा र मानषी अधिकारीलगायत परिवारले राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनामार्फत ती कम्प्युटर बिद्यालयलाई हस्तान्तरण गरेका हुन ।
बिद्यालयमा कम्प्युटर हस्तान्तरण गर्नकै लागि ८५ बर्षिय लक्ष्मण अधिकारी आफु जन्मेको गाउँ आएका थिए । दुःखद खबर बिद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकै रात लक्ष्मणको महाशिला वडा नम्बर ५ लुंखुमै निधन भएको छ । दमलगायत विभिन्न रोगबाट पीडित भएपनि उनी आफु जन्मेको गाउँको बिद्यालयमा सहयोग हस्तान्तरणका लागि उत्साहपूर्वक आएका थिए ।

राष्ट्रियसभा अध्यक्षसँग नारायण अधिकारीको परिवार ।

नारायण अधिकारीले अहिलेको युग प्रविधिको युग भएको र कम्प्युटर सबै युवायुवतीका लागि अनिवार्य भएका कारण पनि आफु जन्मेको गाउँमा सहयोग गर्ने भावना आएको जानकारी दिए । ‘अहिलेको युग भनेको प्रविधिको युग हो, महेन्द्रज्योति माविका बिद्यार्थीहरु अहिले पनि कप्युटर सिक्नका लागि कुश्मा, पोखरा धाउनुपर्ने बाध्यता रहेको छ, त्यसैले पनि आफु पढ्ने बिद्यालयमै बिद्यार्थीले कम्प्युटर सिक्न सकुन भन्ने भावनाले सहयोग गरेको हुँ’ अधिकारीले भने ।

राष्ट्रियसभा अध्यक्षसँग नारायण अधिकारीको परिवार ।

यसअघि कम्प्युटर सिक्नकै लागि त्यसक्षेत्रका बालबालिका पोखरा, कुश्मा धाउनुपर्ने अवस्था रहेपनि अव त्यो अवस्था अन्त्य भएको बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले बताए । ‘बिद्यालयमा कम्प्युटर पढाउने हाम्रो पहिलेदेखिकै धोको हो, अहिले आएर पूर्वबिद्यार्थी नारायण अधिकारीको परिवारले जुन सहयोग गर्नुभएको छ, हामी सहयोगी परिवारलाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ’ प्रधानाध्यापक शर्माले भने ।
अधिकारी महेन्द्रज्योति माविमै अध्ययन गरेका हुन । उनको परिवार हाल बसाई सरेर नवलपुरको गैडाकोटमा बसोबास गर्दै आएको छ । विगत १५ बर्षदेखि बिदेशमा रहेका नारायण अधिकारीले प्रधानाध्यापक गोपालप्रसाद शर्मासँग सम्पर्क भएपछि आफु पढेकै बिद्यालयमा सहयोग गर्ने भावना पैदा भएको बताए । ‘आफु ब्यावसाय तथा रोजगारीका क्रममा बिदेश भएपनि आफु जन्मेको, हुर्केको गाउँ र आफु पढेको बिद्यालयमा केही गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको हु’ उनले भने ।

कम्प्युटर कक्ष र कम्प्युटर बिद्यालयलाई हस्तान्तरण गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कमाईसँगै सयौ बालबालिकाको भविष्यप्रति चिन्तन राखेर सहयोग गर्ने नारायण अधिकारीको परिवारलाई धन्यबाद दिए । ‘कमाउनुमात्रै ठुलो कुरा होइन, समाजलाई केही दिनु र दिनुपर्छ भन्ने भावनाको विकास हुनु सबैभन्दा ठुलो कुरा हो’ राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने । महाशिला गाउँपालिकामै ब्यक्तिगत रुपमा नगदै यति ठुलो रकम शैक्षिक तथा प्राविधिक क्षेत्रमा खर्च गरेको उदाहरण यो पहिलो भएको महाशिला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता जिवन विक्रम उचैले बताए ।

यसैगरी अधिकारीले महाशिला गाउँपालिका वडा नम्बर ५ कै बुद्ध प्राविमा समेत छ थान कम्प्युटर, फर्निचर र विभिन्न प्रकारका पुस्तकहरु सहयोग गरेका छन् । उक्त बिद्यालय र महेन्द्रज्योति माविमा गरी झण्डै २० लाख लगानी गरेको अधिकारीले जानकारी दिए । नारायण अधिकारीले अन्य क्षेत्रमा समेत सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा लक्ष्मी सहयोगी संस्था दर्ता गरेका छन् । संस्थाले पर्वत जिल्लामा केन्द्रित रहेर शैक्षिक, सामाजिक, स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाका सचिव सुरज जोशीले जानकारी दिए । ‘अव हामी लक्ष्मी सहयोगी संस्थामार्फत सामाजिक काम गर्छौ’ जोशीले भने ।

रिबन काटेर कम्प्युटर ल्याबको शुभारम्भ गर्दै राष्ट्रियसभा अध्यक्षसहित नारायण अधिकारीको परिवार ।
spot_img

भर्खरै