पर्वत, असोज २–गणेशमान सिंहको स्मृत्ति दिवसका अवसरमा यहाँ मंगलबार बिहान सरसफाई कार्यक्रम गरिएको छ । २०४६ सालका सर्बोच्च कमाण्डर एवम् काँग्रेसका संस्थापक गणेशमान सिंहको स्मृत्तिमा नेपाल बिद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल तरुण दलले मोदीबेनी जाने बाटो सरसफाई गरेका हुन । पदप्रति स्वार्थ नभएका, सधै मुलुक र जनताकाप्रति समर्पित भएका नेता गणेशमान सिंहले देखाएको बाटोमा लाग्ने सन्देश दिनका लागि सिंहको स्मृत्ति दिवसमा मोदीबेनी जाने बाटो सरसफाई गरिएको नेपाल बिद्यार्थी संघ पर्वतका नेता शिशिर शर्माले जानकारी दिए ।
‘नेपालमा प्रजातन्त्र स्थापनाका लागि २०४६ सालको आन्दोलनका सर्बोच्च कमाण्डर समेत हुनुभएका गणेशमान सिंहको भुमिका महत्वपूर्ण छ, उहाँले देखाएको बाटोमा आज मुलुकलाई लैजानुपर्छ भन्ने सन्देश दिनका लागि सिंहको स्मृत्ति दिवसमा सरसफाई कार्याक्रमको आयोजना गरेका हौ’ उनले भने ।
उनले गणेशमानको सम्झनामा नेविसंघ, दलितसंघ र तरुण दल मिलेर सरसफाई गरिएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कामलाई निरन्तरता दिने जानकारी दिए । नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकलाई धन्यबाद दिइन ।
नेपाल दलित संघ पर्वतका अध्यक्ष यामबहादुर परियार (शिव)ले गणेशमान सिंहजस्ता नेताको अभाव अहिले पनि मुलुकमा खडकिएको बताए । तरुण दल फलेबास नगरका अध्यक्ष दिनेश लामिछाने, दलित संघका जिल्ला कोषाध्यक्ष ठाकुर रसाइलीलगतय नेबिसंघ, दलित संघ र तरुण दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।





