spot_img

पर्वतमा काँग्रेसको बृहत प्रदर्शन, काँग्रेस नेता जोशीको उदघोष–‘सरकार श्री ३ बन्न खोज्छ भने कांग्रेसले ठेगानमा ल्याउँछ’

पर्वत, साउन १५–नेपाली काँग्रेस पर्वतले सदरमुकाम कुश्माबजारमा मंगलबार बृहत प्रदर्शन गरेको छ । सरकारले महंगीलाई नियन्त्रण गर्न नसकेको, जनतामाथि अत्यधिक करको भारी थोपरेको, अदालत र सरकारी संयन्त्रलाई तानाशाही रुपमा चलाउन खोजेको, महिला अस्मितामाथि सरकारमा बस्नेहरु नै धावा बोल्ने गरेको लगायतका आरोप लगाउदै पर्वत काँग्रेसले बृहत प्रदर्शन गरेको हो ।
काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थितिले ०६२÷०६३ कै जनआन्दोलनको झल्को दिएको थियो । गाउँगाउँबाट काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पार्टी कार्यालयबाट निस्केको बिरोध ¥याली कुश्माबजारका विभिन्न ठाउँमा नारासहित पुगेर लोकतन्त्रचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, पार्टी सभापति खिमप्रसाद भुसाल, प्रदेशसभा सदस्य ललितकला गुरुङ, पार्टी उपसभापति दुर्गाबहादुर खत्री, सचिव विश्वप्रकाश प्रसाईलगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दुई तिहाईको दम्भले सरकारले आफुलार्य श्री ३ जस्तो सम्झेको आरोप लगाए । सरकारले श्री ३ सम्झेर जनबिरोधी र अधिनायकबादी दिशामा निरन्तरता दिएमा जनताले राणा र राजालाई जस्तै सडकबाटै लतारेर फ्याक्ने चेतावनी दिए । यो सरकारले केही गर्ला भन्ने लागेपनि सुरुदेखि नै जनबिरोधी काम गर्दै आएको उनले आरोप लगाए ।

सरकार बनेलगत्तैदेखि महंगी हवात्तै बढेको, जनतालाई कर थोपरेर आतंकित पारेको, कर्मचारीबर्ग र अदालतलाई तर्साउन खोजेको, राज्यका स्वतन्त्र निकायलाई प्रधानमन्त्री मातहत ल्याएको, आफ्ना माग राख्ने जनतालाई निषेध गर्न खोजेको, जनमुखी चिकित्सा शिक्षा अध्यादेशलाई तस्कर र माफियामुखी चिकित्सा शिक्षा बिधेयक ल्याउन लागेको जोशीले आरोप लगाए ।
सरकार लोकतान्त्रिक मुल्यमान्यतालाई समाप्त पारेर अधिनायकबादतर्फ उन्मुख हुन खोजेकोले काँग्रेसले लोकतान्त्रिक मुल्यमान्यतामा ल्याउन संकेतात्मक रुपमा बिरोध कार्यक्रम ल्याएको बताए । सरकारले काँग्रेसको माग सम्बोधन नगरी कमजोरीका रुपमा लिएर लोकतान्त्रिक मुल्यमान्यता बिपरित हिडेमा नराम्रो मुल्य चुकाउनुपर्ने चेतावनी काँग्रेस नेता जोशीले दिए ।
काँग्रेस यो सरकार पाँच बर्षसम्म टिकोस र राम्रो काम गरोस् भन्ने चाहेपनि सरकार त्यसको बिपरित दिशामा चलेको उनको भनाई थियो । हिजो केपी ओलीको पक्षमा हिँडेका पत्रकार र नागरिक समाज पनि आज बिरोधमा हिँडेकोले पनि प्रधानमन्त्री केपी ओली अधिनायकबादी दिशामा अघि बढेको पुष्टि हुने भनाई उनले राखे ।

‘हिजो केपी ओलीको पक्षमा बोल्ने पत्रकार र नागरिक समाज आज सरकारको बिरुद्धमा छ । किनभने आज सरकारको बाटो ठिक छैन । उद्देश्य ठिक छैन । सरकारको मनमा जनताको सेवा छैन । सरकारको मनमा जनताको अधिकारको सम्मान छैन । सरकारसमक्ष महिलाको सम्मान छैन’ उनले भने । उनले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस सकियो भन्दै चिन्ता नलिन पनि आग्रह गरे । नेपाली जनता रहदासम्म काँग्रेस रहने चेतावनी जोशीले दिए ।

‘काँग्रेसको बारेमा चिन्ता लिनुपर्दैन बरु हिजोको तपाईहरुको एमाले र माओबादी आज कहा लगेर फाल्नुभयो’ उनले भने–‘जबसम्म नेपाली जनता छन्, तबसम्म नेपाली काँग्रेस रहन्छ ।’ जोशीले चुनावमा कुश्मा हुदै बेनीसम्म रेल ल्याउने भन्दै हिँडेका नेतालाई रेल कहिले आउछ भनेर सोध्न चाहेको बताए ।
‘चुनावमा हामीले बाटो बनाउँछौ । खनेका बाटोलाई स्तरोन्नती गर्छौ । खानेपानीको समस्या भएकालाई खानेपानीको सुविधा दिन्छौ भन्यौ । तर अर्को पार्टीका नेताहरु रेल ल्याउछौ, भन्नुभयो तर चुनाव जितेपछि पर्वतका माननीयले हामीले रेल ल्याउछौ भनेकै छैनौ भन्नुहुन्छ रे’ उनले भने–‘तपाईले बोलेका कुरा जनताले हात हातको मोबाइलमा राखेका छन्, रेल कहिले ल्याउनुहुन्छ, म तपाईलाई स्वागत गर्न माला लिएर बसेको छु ।’

spot_img

भर्खरै