spot_img

पहिरोले छोराको मृत्युपछि बाबुआमा बिक्षिप्त, काँग्रेस नेता जोशीले दिए सान्त्वना


पर्वत, साउन २–एक्लो छोरा । उसैको सहारामा थिए बाबु आमा । साउने संक्रान्तीको दिन । जलजला गाउँपालिका वडा नम्बर ८ स्थित लस्तीको बेरनेटाका बमबहादुर परियारको घरमा छुट्टै रौनक थियो । श्रीमति रुपा र छोरो विकाससँगै हासीखुशी खाना खाएर सुतेका बमबहादुरकोे परिवारको खुशी केही घण्टामै समाप्त भएको छ ।
राती १० बजे सुतेका उनीहरु १ बजे ठुलै बिपत्ति आइलाग्यो । घरमाथिबाट आएको पहिरोले छोरो विकास गुमाएपछि अहिले विक्षिप्त भएका छन बमबहादुर र उनकी पत्नी रुपा । विकास आगामी असोजमा १६ बर्ष पार गर्दै थिए । तर सँगै खुशीसाथ सुतेको छोरा मध्यरातमा पहिरोले लगेपछि बाबुआमा अर्धचेत अवस्थामा रहेका छन् । सुतीरहेकै बेला ठुलो आवाज आएको र आफुलाई ढुंगाले लागेपछि निद्रा खुलेको बमबहादुरले बताए ।

निद्रा खुल्नेबित्तिकै बाहिर निस्कदा घरको पालीसहित छोरो हराएको उनको भनाई छ । श्रीमति रुपालाई बोलाएर उद्दार गरेपनि छोराको मृत्युले बाच्नु न मर्नु भएको उनले पीडा सुनाए । दुई छोरी र एक छोराका बाबु बमबहादुरको दुई वटा छोरीको बिवाह भइसकेको छ । बेलुका खाना खाएर सुत्नुअघि विकासले आमा रुपालाई बिहान ५ बजे नै खाना तताइदिनु काममा जानुछ भनेका थिए । ‘बाहिर निस्कदा घरको पाली नै थिएन, त्यही पालीमा छोरो सुतिरहेको थियो’ अर्धचेत अवस्थामा रहेकी रुपाले रुँदै भनिन्–‘मेरो छोरोलाई त चरो उड्दाजस्तै गरी लग्यो नी ।’
यसैगरी लस्तीखोलामा आएको बाढीले लस्तीबजार नै जोखिममा परेको छ । खोलाको बाढीले जमिन कटान जारी राखेको छ । लस्तीबजारका दिननाथ आचार्य, कृष्णबहादुर पुन, लक्ष्मी नेपाली, समिक्षा चोचाङ्गी, मानबहादुर चोचाङ्गी, बम्बे दमाईको घर जोखिमा परेको छ । जमिन खोलाले कटान गर्दै घरमै पुगेको दिननाथ आचार्यले जानकारी दिए ।

दक्षिणामकाली क्रसर उद्योगमा पनि क्षति पु¥याएको छ । उद्योगमा थुप्रो लगाएर राखेको बालुवा लस्ती खोलाको भेलले कालीगण्डकी नदीमा मिसाइदिएको क्रसर उद्योग सञ्चालक विप्लब हमालले जानकारी दिए । पहिरोले मालढुंगा–बेनी सडक समेत अबरुद्ध गरेको थियो ।
रातीदेखि अबरुद्ध भएको सडक बिहान खुलाइएको थियो । सारङे खोलाले ध१ज ५४२ नम्बरको ट्याक्सी समेत बगाएर कालीगण्डकी नदी किनारमा पु¥याएको छ । पहिरोका कारण जलजला गाउँपािलका वडा नम्बर ७ धाइरिङ बाँस्कोटका भिमलाल आचार्यको घर पनि भत्किएको छ । घर भत्किदा भिमलालसहित नारायणी आचार्य, तुलसीदेवी आचार्य घाइते भएका छन् । नारायणी आचार्यको अवस्था गम्भिर छ ।

यसैबिच पूर्वसांसद एवम् काँग्रेस नेता अर्जुनप्रसाद जोशीले बमबहादुर र रुपालाई भेटेर सान्त्वना दिएका छन् । विपत् कहिले र कतिबेला आउछ कसैलाई थाहा नहुने भन्दै उनले संयम, धैर्य र सचेत भएर सामना गर्नुपर्ने बताएका छन् । उनले बुधबारै पहिरो गएको स्थानको अवलोकन गरेर राहत तथा खोला नियन्त्रणका लागि सम्बन्धित ठाउँमा पहल गर्ने आश्वासन दिए ।
पहिरोमा मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले बुधबार नै एक लाख रुपैयाँ प्रदान गरेको छ । जिल्ला विपत् ब्यवस्थापन समितिको बैठकले उक्त सहयोगको रकम अनुमोदन गर्दै २२ परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको छ ।

spot_img

भर्खरै