बीबीसी – अमेरिकामा एक ९२ वर्षीया आमाले ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती आमालाई यति रिस उठ्यो कि उनले छोरालाई गोली हानिदिएइन् । यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखमा भएको हो । घटनापछि एना मे ब्लेसिंगले भनिन्, ‘तिमीले मेरो जीवन बर्बाद गरिदियौ, म तिम्रो जीवन बर्बाद गरिदिने पालो मेरो ।’
एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन् । उनले अनुसार छोराको हत्या गरेपछि आफूपनि आत्महत्या गर्न चाहेको जानकारी दिइन् । नाम नखुलाइएका ब्लेसिंगका छोराले आफ्नी आमासँग बस्न मुश्किल भएको भन्दै उनलाई घरमा नराखी वृद्धाश्रम लैजान चाहन्थे । पुलिसका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् । उनको खल्तीमा पेस्तोलका दुईवटा गोली थिए । बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन् ।
पुलिस जब घटनास्थल पुग्यो तब उनको छोराको मृत्यु भइसकेको थियो । गोली उनको घाँटी र बंगारामा लागेको थियो । त्यसपछि ब्लेसिंगले छोराकी ५७ वर्षीया प्रेमिकामाथि बन्दुक तेर्साइन् । आत्मरक्षाको संघर्षमा दुईबीच हातपात भयो जसका कारण पेस्तोल कोठाको एउटा कुनामा गएर खस्यो । त्यसपछि ब्लेसिंगले आफ्नो दोस्रो बन्दुक निकालिन् । ब्लेसिंगले उक्त पेस्तोल सन् १९७० मा उनका श्रीमान्ले दिएको पुलिसलाई जानकारी दिइन् । तर उनका छोराकी प्रेमिकाले आफूलाई बचाउन सफल भइन् । उनी त्यहाँबाट भाग्न सफल भइन् र पुलिसलाई उक्त घटनाबारे जानकारी दिइन् ।
पुलिस जब घटनास्थल पुगे तब ब्लेसिंग आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन् । उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने ताइन् । उनीमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ । जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ ।