पर्वत, जेठ ६–जलजला गाउँपालिकामा सञ्चालनमा रहेका दुई सय वटा पसल गाउँपालिका मातहतमा आएका छन् । यसअघि घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योग, ब्यापार, ब्यवसाय, पसललाई समेत अनिवार्य रुपमा गाउँपालिकामा दर्ता गर्नुपर्ने निर्णय गरेपछि गाउँपालिकामा दर्ता हुन थालेका हुन । अहिले दैनिक रुपमा गाउँपालिकामा ब्यापार, ब्यवसाय दर्ता हुन थालेका छन् ।
गाउँपालिकाले अनिवार्य रुपमा गाउँपालिकामा दर्ता गर्नुपर्ने निर्णय गरेपछि धमाधम दर्ता हुन थालेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘हामीले सबै ब्यापार, ब्यवसायलाई गाउँपालिका मातहत ल्याउन अनिवार्य रुपमा दर्ता गर्ने निति लिएका छौ’ मल्लले भने–‘सोमबारसम्म दुई सय जना ब्यावसाय दर्ता भएका छन् ।’
गाउँपालिकाले दर्ताका लागि दुई हजार रुपमा शुल्क लिएको छ । दुई सय ब्यावसाय दर्ता गर्दा गाउँपालिकाले चार लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष मल्लले चालु आर्थिक बर्षमा कम्तीमा पनि पाँच सय ब्यापार, ब्यावसाय र पसललाई गाउँपालिकामा दर्ता गर्ने योजना रहेको जानकारी दिए । गाउँपालिकाले दर्ताका लागि वडा–वडामा शिविर समेत चलाएको छ ।
उद्योगी, ब्यवसायीलाई गाउँपालिकासम्म जान नपरोस् र लक्ष्यअनुसार दर्ताका लागि विभिन्न वडामा घुम्ती शिविर चलाइएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए । उनले दर्तामा सहभागी नहुने उद्योगी ब्यवसाय गाउँपालिकाले अनुगमन गर्दा बन्द गराउनसक्ने बताए । ‘बन्द पनि गराउन सक्छ, गाउँपालिकाबाट पाउने सेवासुविधाबाट पनि बञ्चित हुने अवस्था आउछ’ उनले भने ।
उनले नयाँ कानुनले उद्योग, ब्यवसायको दर्ता, नविकरण र नियमनको जिम्मा गाउँपालिकालाई दिएकोले गाउँपालिकाले विगतमा सञ्चालन भएका, दर्ता भएका उद्योग ब्यवसायलाई पनि पुनः गाउँपालिकामा दर्ता गर्ने निति लिइएको जानकारी दिए । उनले एकमहिनाभित्र गाउँपालिकाभित्र रहेका सबै उद्योग, ब्यापार, ब्यावसाय दर्ता हुनुपर्ने बताए ।
बजारिक क्षेत्रका उद्योग, ब्यापार, ब्यवसाय विगतमा घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएपनि ग्रामिण भेगमा अधिकांश पसल, ब्यवसाय दर्ता छैनन् । अनिवार्य दर्ता गर्नुपर्ने र त्यो सबैले देखिने ठाउँमा झुण्ड्याउनुपर्ने जलजला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिए ।


