spot_img

जलजला–९ बनौमा सार्वजनिक सुनुवाई, उपभोक्ता समिति भन्छन्–‘योजना पुरा गर्न ऋण खोज्ने वातावरण अन्त्य गरिदिनुस्’

पर्वत, बैशाख २८ –गाउँमा बिनियोजन भएका योजनाको रकम काम सम्पन्न भएपछि मात्रै निकासा हुने परिपार्टीप्रति बनौबासीले गुनासो गरेका छन् । उनीहरुले पहिलो किस्ताले सबै काम सम्पन्न गर्न कठिनाई हुँदा उपभोक्ता समितिहरुले ऋण खोजेर योजनाको काम गर्नुपरेको गुनासो गरे । जलजला गाउँपालिकाले वडा नम्बर ९ स्थित बनौमा आयोजना गरेको सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीले पहिलो किस्ताबापत पाउने थोरै रकमले योजना निर्माण गर्न निकै समस्या भएको बताएका हुन । उनीहरुले कम्तीमा पनि ५० प्रतिशतबढी रकम पहिलो किस्तामा काम सुरु गर्नुपूर्व नै उपभोक्ता समितिलाई प्रदान गर्नुपर्ने बताए ।

पातलखर्क युवा क्लब भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम पुनले निकै कम रकम पहिलो किस्तामा पाउदा उपभोक्ताले ऋण खोजेर काम सम्पन्न गर्नुपर्ने बाध्यता भएको गुनासो गरे । उनले योजना निर्माण सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीको थाप्लोमा ऋण थपिने कारणले उपभोक्ता समितिमा बस्ने मानिसकै समस्या हुने गरेको बताए । ‘अहिले गाउँमा विकासका योजना आएपनि त्यो ऋण खोजेर निर्माण गर्नुपर्ने र त्यो निर्माण सम्पन्न भएर महिनौपछि मात्रै पाइन्छ, त्यसैले उपभोक्ता समितिमा बस्ने मानिसकै समस्या हुने गरेको छ’ उनले भने ।

छहरा खानेपानी योजनाका उपभोक्ता चक्रबहादुर पुनले पनि समयमा भुक्तानी नहुने समस्याले ऋणमा डुब्ने काम भन्दै उपभोक्ता समितिमा राख्ने मानिस नै नपाइने गरेको बताए । ‘अन्यत्र उपभोक्ता समितिमा बस्न मारामार हुन्छ तर बनौमा मान्छे नै पाइदैन’ उनले भने । बनौमा चालु आर्थिक बर्षमा जलजला गाउँपालिकाले २६ वटा योजनामा झण्डै ८६ लाख रुपैयाँ बिनियोजन गरेको छ । ती योजनाहरुको उपभोक्ता समिति गठन गर्न निकै समस्या भएको वडा अध्यक्ष गौबहादुर पुनले गुनासो गरे । ‘समितिमा बसेपछि ऋण खोजेर काम गर्नुपर्ने भएका कारण उपभोक्ता समितिमा बस्ने मानिस खोज्दै पाइदैन, जबरजस्ती समातेर राख्नुपर्छ’ उनले भने ।

सार्वजनिक सुनुवाईका क्रममा उपभोक्ता समितिका पदाधिकारीले विकासका योजनामा २० प्रतिशत श्रमदान गर्नुपर्ने बाध्यता हटाउनुपर्ने, योजनाको सम्झौता हुदा नै रकम भुक्तानी गर्नुपर्ने लगायत समसामयिक समस्या तथा गुनासाहरु राखेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले विकास निर्माणमा जनताको सहभागिताका लागि श्रमदानको नीति ल्याइएको र यसले विकास निर्माणप्रति जिम्मेबार बनाउने बताइन् । उनले गाउँपालिकाले गर्नसक्ने गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् ।

जलजला गाउँपालिकाका सामाजिक शाखा प्रमुख लिलाधर सुवेदीले सरकारी निकायले दिने सेवामा पारदर्शिता र जवाफदेफी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको बताए । उनले गाउँमा भित्रिने विकास निर्माण र सेवाका बिषयमा जान्न पाउनु जनताको अधिकार भएको पनि प्रस्टाए । विकास निर्माणको क्रममा अनियमिता र गलत भएमा खबरदारी गर्न पनि सुवेदीले उपभोक्तालाई सुझाएका थिए । जलजला गाउँपालिकाका सामाजिक परिक्षण विज्ञ हिरालाल रेग्मीले सार्वजनिक सुनुवाईले राज्यले दिने सेवा सुविधाप्रति जनताले बुझ्न पाउने र जनप्रतिनिधि तथा कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले कतिपयलाई गाउँमा के के योजना भित्रियो ? ती योजनाको बजेट के कति हो ? भन्ने बिषयमा जानकारी नहुने भएका कारण यस्ता सार्वजनिक सुनुवाईले खबरदारी गर्न उपभोक्तालाई सहज हुने धारणा राखे । जलजला गाउँपालिकाका प्राविधिक रमेश शर्माले स्टीमेटमा उल्लेख भएअनुसार काम पुरा गर्नैपर्ने भएका कारण कसैले पनि ढाटछल गर्छु भन्ने सोच्न नहुने बताए । उनले राम्रो काम गर्ने उपभोक्तालाई प्राविधिकले दुःख नदिने प्रस्ट पारे । जलजला गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गौबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा बिषयबस्तुमाथि प्रकाश सामाजिक विकास शाखा प्रमुख लिलाधर सुवेदी र कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले गरेका थिए ।

spot_img

भर्खरै