बुटवल, चैत २२ –रूपन्देहीको देवदहका व्यवसायी बसन्त पौडेल बलुलाई गोली प्रहार गरी फरार रहेका मुख्य सुटर शुभाष गुरुङ पक्राउ परेका छन्। गत पुस २१ गते देवदह २ ढेकावारमा उज्वल नामक काठमिल सञ्चालन गर्दै आएका ४० वर्षिय पौडेलमाथि सःमिलमै गोली प्रहार गरी हत्या गरेका थिए। गुरूङले तत्काल एक लाख रूपैया लिएर बलुको हत्या गरेको प्रहरीले जनाएको छ।
रूपन्देही प्रहरीले पौडेलको हत्या भएको तीन महिना पछि गोली प्रहार गर्ने मुख्य सुटर लमजुङ बाङग्रे गाउँपालिका वडा नं. ५ भोर्लेटार घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. १० रामबजार बस्ने २२ वर्षको शुभाष गुरुङलाई पक्राउ गरेको हो। अभियुक्त गुरुङलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले पौडेलको हत्यामा प्रत्यक्ष संलग्न रहेका पाँच जना सबै पक्राउ परिसकेको जानकारी दिए।

पौडेलको हत्याका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र सोम बहादुर आले फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका छन् भने हत्यामा संलग्न पदम चौधरी र महेन्द्र भन्ने महि नारायण चौधरी यसअघि नै पक्राउ परी कारागार चलान भईसकेका छन्। फरार रहेका गुरुङलाई प्रहरीले पोखरा रामबजारबाट मंगलबार पक्राउ गरेको हो।
प्रहरी उपरिक्षक ज्ञवालीले गुरुङ पक्राउ परेसँगै पौडेल हत्या घटनाको च्याप्टर क्लोज भए पनि मनोज पुनको सञ्जालमा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको जानकारी दिए । ‘मनोज पुन र पुनको जस्तै अपराधमा संलग्न व्यक्तिहरुको जालोलाई नतोडेसम्म नागरिकले ढुक्क भएर बस्ने अवस्था हुँदैन तबसम्म प्रहरी लागिरहने छ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने। त्यसअघि देवदहकै दुर्गा तिवारीको हत्यामा संलग्न लोप्साङ भन्ने व्यक्ति भने अझै फरार रहेका छन्। तिवारीको २०७३ पुस ४ गते देवदहमै गोली हानी हत्या भएको थियो।


