पर्वत, चैत १२–मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेका वडा सदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा साँझ साढे सात बजे आगो लागेको हो । राती पौने १० बजेसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको र घरमा भएको कुनैपनि सामान निकाल्न नपाएको वडा अध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।
पौडेलको घरमा उनकी आमा बिष्णुमती पौडेलले किराना पसल समेत चलाउदै आएकी थिइन् । उक्त पसलसमेत डढिसकेको छ । आगलागीमा सबै गरी १५ लाख बढी क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताए । अहिले स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।