काठमाडौं, चैत ३– जिम्बाव्बेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ। स्थानीय क्वेक्वे खेल मैदानमा नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो। जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३८ बल खेलेका उनले ३ चौका प्रहार गरे। कप्तान पारस खड्का २२ रनमा आउट भए। ३७ बल खेलेका पारसले ३ चौका प्रहार गरे। करण केसी १३ रनमा आउट भए। २४ बल खेलेका करणले ३ चौका प्रहार गरे। अनिल शाह ३० बलमा ८ रनसहित आउट भए।
अनिल शाह ८ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए। सन्दिप लामिछाने १ चाैकासहित १४ रनमा अविजित रहँदा ललित राजवंशी २ रनमा अाउट भए।
नेदरल्याण्डसका रे भन डेर मरवीईले नेपालको सर्वाधिक ४ विकेट लिए। एफजे क्लासेन र पीएम सेल्लरले समान २ विकेट लिए भने टी भन डेर गुगटेन र एस स्यानटेरले समान १ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनायो। नेदरल्यान्ड्सका लागि बस ली लिडेले ३९, म्याक्स ओ डल्डले २८,भान डर मेर्वी र स्कट इड्वार्डले समान २५,पिटर सिलर र साने स्यान्टरले समान २३ रनको योगदान लिए।
नेपालका लागि सोमपाल कामीले ४, सन्दिप लामिछाने र ललित राजवंशीले २–२ तथा शक्ति गौचाले १ विकेट हात पारे। योसँगै सन्दिपले प्रतियोगिताभर १३ विकेट लिएका छन्।
इतिहासमै पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि नेदरल्यान्ड्सको सामना गरेको छ। तर सुखद नतिजा निकाल्न असफल रह्यो।
बिहीबार भएको प्लेअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २–२ खेल जितेका छन्। आजको हारसँगै नेपाल ३ र नेदरल्याण्ड २ भएको छ।