पर्वत, चैत १–नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिकका पर्वतस्थित संबाददाता छविलाल तिवारीलाई ज्यान मार्ने धम्की दिने पोखराका राजेन्द्र भण्डारीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा निवेदन दर्ता भएको छ । तिवारीसहित महासंघ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमप्रसाद घायलसहित पर्वतका दर्जन पत्रकारले प्रमुख जिल्ला अधिकारी राजेश पन्थीसमक्ष औपचारिक रुपमा उजुरी दर्ता गरेका हुन ।
तिवारीद्धारा हस्ताक्षरित उजुरीमा धम्की दिने ठेकेदार राजेन्द्र भण्डारीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया थाल्न जोडदार माग गरिएको छ । तिवारीलाई नागरिक दैनिक पत्रिकामा किन समाचार छापेको भन्दै बिहिबार ९८५१०१०४३३ नम्बरको मोबाइलबाट फोन गरेर पर्वत आएर मारेर फाल्ने धम्की दिएका भण्डारीबिरुद्ध प्रशासनमा उजुरी दर्ता गरिएको नेपाल पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले जानकारी दिए ।
तिवारीले गत फागुन २० गतेको नागरिक दैनिकमा निर्माणाधिन पक्की पुल अलपत्र शिर्षकमा समाचार प्रकाशित गरेका थिए । मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल ठेक्का लिएका ठेकदार नै सम्पर्कमा नआएपछि अलपत्र परेको बिषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको बिषयलाई लिएर भण्डारीले फोन गरेर मार्ने धम्की दिएका हुन । विभिन्न अपशब्द बोल्दै भण्डारीले आफुले लिएको ठेक्काको काम गर्ने वा नगर्ने पत्रकारको चासो नभएको चेतावनी दिए ।
‘तेरो घर बनाउने ठेक्का लिएको हो, तलाई के को चासो काम गरौ वा नगरौ’ फोनमा भण्डारीले धम्की दिदै भने–‘पख् तलाई पर्वत नै आएर मारेर फ्याकिदिन्छु ।’ धम्कीप्रति आपत्ति जनाउदै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट र नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजय शिवाकोटीले समाचारको बिषयमा चित्त नबुझेमा कानुनी प्रक्रिया हुँदाहुदै सिधै ज्यान मार्ने धम्की दिएकोमा गम्भिर ध्यानाकर्षण गराउदै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
महासंघ र युनियनले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्ने वातावरण मिलाउनका लागि माग समेत गरेका छन् । पत्रकारलाई समाचार लेखेको बिषयमा धम्की दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताबिपरित भएको दुबै संस्थाको ठहर छ । यता नेपाल पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले बिज्ञप्ती जारी गर्दै अध्यक्ष तिवारीमाथि आएको धम्कीले स्वतन्त्र पत्रकारितामा गम्भिर धावा बोलेको जनाएका छन् ।
तीनबर्षअघि निर्माण सुरु भएको पुल केही महिनामै ठेक्का लिएका भण्डारीले छाडेर हिँडेपछि पुल अलपत्र परेको छ । बिचमै काम रोकेर ठेकेदार सम्पर्कमा नआएको स्थानियले बताएका थिए । मोदी १ का वडा अध्यक्ष गौप्रसाद गुरुङले सडक विभागलगायतका निकायमा पुलको निर्माण कार्य अलपत्र परेको बिषयमा ध्यानाकर्षण गराउँदा समेत निकास ननिस्केको बताए ।
‘न सडक विभागले अर्को विकल्प निकालेको छ, न ठेकेदारले काम सुरु गरेको छ’ उनले भने–‘समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा बर्षायाममा यातायातको सुविधाबाट बञ्चित हुने अवस्था आएको छ ।’ पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेबासीले पक्की पुलको माग गर्दै आएका थिए ।
छ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल चालु आर्थिक बर्ष ०७४÷०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि अझै धेरै काम बाँकी रहेको छ । तत्काल काम सुरु गरेपनि तोकिएको मितिमा पुल निर्माण सम्पन्न हुने अवस्था नभएको गुरुङले बताए । ‘एकातर्फको पिल्लरमाथि उठाइएको छ, अर्कोतर्फ सुरु नै भएको छैन’ उनले भने ।
स्थानीय भुलबहादुर पौडेलले आगामी बर्षामा पनि भुकताङ्लेका बासिन्दाले पक्की पुलको प्रयोग गर्न नपाउने अवस्था आएको बताए । ‘काम नरोकिएको भए अहिलेसम्म झण्डै पुल निर्माण अन्तिम अवस्थामा पुग्थ्यो’ उनले भने–‘आउने बर्षामा गाउँसम्मै यातायातको सुविधा लिने भुकताङ्लेबासीको आशा असफल हुने भयो ।’
कार्यालयका सुचना अधिकारी चन्द्रेश्वर साहले ठेकेदार सम्पर्कमा रहेपनि काम अगाडी बढ्न नसकेको बताए । ‘२९ महिनाभित्र निर्माण सक्नुपर्ने पुल हो, अव केही महिनामात्र बाँकी छ, हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौ’ साहले भने । उनले ठेकेदारलाई काम छिटो सुचारु गर्न पटक–पटक ताकेता गरेपनि बेवास्ता गरेको बताएका छन् ।


