पर्वत, माघ १७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफुले सुरुगरेका विकास निर्माण तथा पूर्वाधारको कामलाई निष्कर्षमा पु¥याएरै छाड्ने बताएका छन् । आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको मेलालाई समापन गर्दै जोशीले आफु चुनाव हारेपनि सुरु गरेका योजनालाई पुरा गर्ने बताए ।
‘म पदमा हुँदा वा नहुँदा पनि जनताको काममा सधैँ सक्रिय भइरहन्छु, पर्वतको विकासका लागि मैले धेरै योजना सुरु गरेको छु, त्यसलाई पुरा गरेरै छाड्छु’ जोशीले भने । आर्थर कला संस्कृतिका साथै मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको वताउँदै आर्थर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकोले पर्यटकीय विकास गर्न आफूले निरन्तर सहयोग गर्ने बताए ।
आर्थरबाट आफूले निरन्तर माया पाएको र आफूले पनि आर्थरको विकास र समृद्घिका लागि सँधै माया गरिरहेको नेता जोशीको भनाई थियो । उनले यसबर्ष पकुवा–गँगटे–आर्थर डाँडाखर्क पुग्ने सडक कालोपत्रे र गँगटेमा पक्की पुलको डिपिआर तयार गरि अर्थमन्त्रालयमा अन्तिम निर्णयमा रहेको जानकारी दिए । ‘डिपिआर तयार गरी अर्थमन्त्रालयमा निर्णय हुदैछ, पकुवादेखि आर्थर पुग्ने सडक कालोपत्रे र गंगटेमा पक्की पुल बन्दैछ’ उनले भने ।
आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको मेला नेता जोशीले समापन गरेका हुन । माघ १३ गतेदेखि सुरु भएको मेलामा विविध सांस्कृतिक कार्यक्रमका साथै वडास्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । आर्थर डाँडाखर्क युवा क्लवका अध्यक्ष केशु गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा मेलाको औचित्यका वारेमा मेला आयोजक समितिका संयोजक एवम् नेपाली काँग्रेस आर्थरका सभापति रूद्रमोहन रिमालले प्रकाश पारेका थिए भने स्वागत मन्तव्य क्लवका सदस्य लेखनाथ रिमालले राखेका थिए ।
भलिबल प्रतियोगितामा आर्थर डाँडाखर्क युवा क्लव प्रथम र द्वित्तिय स्थान पकुवा युवा क्लव पकुवाले प्राप्त गरेको छ । विजयी प्रथम टिमलाई ५० हजार पाँच सय ५० रुपैयाँसहित सिल्ड प्रदान गरिएको थियो । उक्त पुरस्कारको प्रायोजन नेका आर्थरका सभापति एवं मेला मूल आयोजक समितिका संयोजक रूद्रमोहन रिमालले गरेका थिए । भलिबल प्रतियोगितामा विभिन्न वडाका २१ टिमले भाग लिएका थिए । मेलामा चर्चित लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो ।